काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशीले वनसम्बन्धी राष्ट्रसंघीय फोरमको अठारौं सत्रमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनु भएको छ ।
बिहीबार राति राष्ट्रसंघीय मुख्यालय न्युयोर्कबाट एक भिडियो सन्देश जारी गर्दै उहाँले यो अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको प्रतिनिधिको रुपमा भाग लिन पाउँदा खुसी लागेको बताउनुभएको छ ।
विश्वसुन्दरी प्रतियोगिता मिस वल्र्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको लागि दाता जुटाउन अमेरिका पुग्नुभएको प्रियंकाले त्यस क्रममा राष्ट्रसंघको सत्रमा सहभागिता जनाउन लाग्नुभएको हो । यो सत्रमा आफूले जलवायु संकटले वन र पर्यावरणमा पारेको असरको कुरा गर्ने उहाँले बताउनुभएको छ ।
प्रियंकाले खुसीको कुरा भएको बताउदैं देशको प्रतिनिधित्व गर्दै वन र पर्यावरणसम्बन्धी मुद्दालाई राष्ट्रसंघको महत्वपूर्ण मञ्चमा प्रस्तुत गर्न लागेको जानकारी दिनुभयो । यो मञ्चमा भाग लिइरहँदा आफूले ब्युटी विथ पर्पसलाई समेत केन्द्रमा राखेको उहाँले बताउनुभएको छ ।
प्रियंकाले विभिन्न अमेरिकी राज्यको भ्रमण गर्दै च्यारिटी गालामा समेत भाग लिनुभएको छ । उहाँको लागि केही राज्यले दाता जुटाउन सहजता दिलाउन नेपाली समुदायले च्यारिटी डिनरको आयोजना गरेका थिए ।
















