काठमाण्डौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारी एवं सदस्यलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा हालै सांस्कृतिक संस्थानमा आयोजित कार्यक्रममा बधाई तथा शुभकामना दिइएको हो ।
मन्त्री किरातीले मौलिक पहिचान र पर्यटन विकासका लागि संस्कृति महत्वपूर्ण भएको चर्चा गर्दै राजनीतिक प्रणाली परिवर्तन गर्न जति सजिलो त्यो भन्दा गाह्रो हुन्छ समाज परिवर्तन गर्न त्यसैले प्रज्ञा प्रतिष्ठानहरूले नयाँ सोच एवं संकल्पका साथ गणतान्त्रिक समाज र संस्कृतिको मूल्य मान्यता स्थापित गर्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तीनै प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यलाई खादा तथा मालाको सट्टा कलम र डायरी प्रदान गरिएको थियो । भाषा, साहित्य, कला एवं सांस्कृतिक क्षेत्रको विकासका लागि सुन्दर इतिहास लेख्न सांकेतिक रूपमा कलम तथा डायरी प्रदान गरिएको मन्त्री किरातीले बताउनुभयो ।
कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म ललितकलाको उन्नयनमा लागि पर्ने बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानलाई सबै जाति, भाषा एवं संस्कृतिको साझा थलो बनाइने बताउनुभयो ।
त्यसैगरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले विगतको तीता मीठो बिर्सेर सबै प्रतितष्ठानबीच सहकार्य आवश्यक भएको बताउनुभयो ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले कर्मकाण्डी योजना तथा कार्यक्रमले लोक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन हुन नसक्ने बताउनुभयो ।