
२९ भदौ, काठमाडौं ।
५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना व्यक्त गर्नुभएको छ ।
बाल दिवसको अवसरमा आज बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित बालबालिकाहरुसँगको अन्तरक्रियामा उहाँले बालबालिकाहरुको साहित्य र कला प्रस्फुट्न गराउनका लागि छुट्टै प्रतिष्ठान बनाउने चाहना व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले बाल साहित्य सम्बन्धी छुट्टै प्रज्ञा प्रतिष्ठान बनाउनु पर्छ भन्ने सोच राखेर केही प्रयासहरु अगाडि बढिरहेकोले त्यसका लागि नेपाल बाल संगठन, किताव चारुजस्ता अरु थुप्र्रै दर्जनौं संस्थाहरु, काम गर्ने प्रयास गरिरहेकाले राष्ट्रको भविष्य बालबालिकाप्रति दृष्टिकोण दिइराख्नको लागि अनुरोध गर्दै सबै जनाले त्यसमा पनि चासो राख्दा हुने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले बालबालिकाहरुको साहित्य र कलाको प्रर्दशनीका लागि आफूले समय दिएरै कार्यक्रम गर्न चाहेको उल्लेख गर्दै त्यसमा कलासहितको उत्कृष्ट प्रर्दशनी हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा राष्ट्रपति भण्डारीले बालबालिकाहरुलाई व्यापक अर्थमा बुझेर सोही अनुसारको कार्यक्रम तय गर्न नेपाल बाल संगठनलाई पनि आग्रह गर्नुभयो ।
राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर राष्ट्रपति भवन शीतल निवासमा बालबालिकासँग अन्तरक्रिया गर्दै आईरहनु भएको छ ।