काठमाडौँ, माघ २३ । चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको प्रवद्र्धन, बजार विस्तार र दर्शक अभिवृद्धि गर्ने उद्देश्यले चलचित्रघरहरूको स्तरोन्नतिका लागि प्रोत्साहन अनुदान दिने प्रक्रिया अघि बढाएको छ ।
बोर्डले ‘चलचित्रघरको स्तरोन्नति तथा प्रोत्साहन सम्बन्धी कार्यविधि, २०८१’ अन्तर्गत रहेर इच्छुक हल सञ्चालकहरूबाट आवेदन माग गरेको हो ।
बिहीबार प्रकाशित सूचना अनुसार, यो कार्यक्रममार्फत विशेषगरी मोफसलमा रहेका र ऐतिहासिक महत्व बोकेका पुराना चलचित्रघरहरूलाई आधुनिकिकरण गर्न सहयोग पुर्याइनेछ ।
बोर्डले अनुदानका लागि केही विशेष मापदण्डहरू तय गरेको छ
१) मोफसलका हलः काठमाडौँ उपत्यका बाहिर सञ्चालित र बन्द अवस्थामा रहेर पुनः सञ्चालन गर्न चाहने चलचित्रघरलाई विशेष प्राथमिकता दिइनेछ ।
२)पुरानो र ऐतिहासिक हलः व्यापारिक मल बाहिर रहेका र लामो समयदेखि सञ्चालनमा रहेका ऐतिहासिक हललाई प्राथमिकताको सूचीमा राखिएको छ ।
३) पारदर्शिताः हाल सञ्चालनमा रहेका हलहरूको हकमा अनिवार्य रूपमा ई टिकेटिङ (बक्स अफिस) प्रणाली लागू भई बोर्डको केन्द्रीय सिनेमा व्यवस्थापन प्रणाली (CCMS) मा डाटा उपलब्ध भएको हुनुपर्नेछ ।
४) राजश्व र कानुनको पालनास् चलचित्र विकास शुल्क, मूल्य अभिवृद्धि कर (VAT) र मनोरञ्जन कर लगायतका राजश्व समयमै बुझाएको र विगतमा कुनै कारबाहीमा नपरेका हलहरूले प्राथमिकता पाउनेछन् ।
लगाएत विभिन्न मापदण्डहरू सुचनामा उल्लेख गरिएको छ ।
इच्छुक चलचित्रघर सञ्चालकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बोर्डको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।
बोर्डको कार्यालयमा वा आधिकारिक वेबसाइट www.film.gov.np बाट आवेदन फारम डाउनलोड गर्न सकिनेछ ।
आवश्यक कागजातहरु नागरिकताको प्रतिलिपि, कम्पनी दर्ता र कर चुक्ता प्रमाणपत्र, कार्यविधिको अनुसूची ३ बमोजिमको प्रतिबद्धता पत्र लगायतका कागजातहरू अनिवार्य गरिएको छ ।
यो कार्यक्रम गत आर्थिक वर्षको निरन्तरता भएकाले अघिल्लो वर्ष आवेदन दिइसकेका आवेदकहरूले पुनः आवेदन दिनु नपर्ने बोर्डले जनाएको छ ।














