काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ प्रक्रिया अधिकांश ठाउँमा सकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका गरी हालसम्म ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको छ ।
छापिएका मतपत्रमध्ये २५ जिल्लामा प्याकिङ प्रक्रिया पनि पूरा भइसकेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा मतपत्र छपाइ सकिएको र बाँकी प्रदेशका जिल्लामा पनि प्रक्रिया अन्तिम चरणमा रहेको आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फ कुल दुई करोड ३ लाख २३ हजार मतपत्र छपाइनुपर्नेछ भने समानुपातिकतर्फको दुई करोड ४ लाख मतपत्र छपाइ भइसकेको छ ।
माघ १६ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको थियो । निर्वाचन आयोगले उच्च हिमाली र दुर्गम जिल्लालाई प्राथमिकता दिँदै मतपत्र छपाइ कार्य निरन्तरता दिइरहेको छ ।
छापिएका मतपत्र माघ २५ देखि फागुन ३ गतेसम्म सम्बन्धित जिल्लामा पठाउने तयारी समेत भइरहेको ।
यस्तै निर्वाचनका लागि आवश्यक पर्ने ३७ प्रकारका सामग्री सम्बन्धित जिल्लामै खरिद गरिने व्यवस्था गरिएको छ भने अन्य निर्वाचन सामग्री आयोगले नै खरिद गरी जिल्लामा पठाउनेछ ।
सडक पुग्ने उच्च पहाडी र हिमाली जिल्लामा ट्रकमार्फत तथा अत्यधिक दुर्गम उच्च हिमाली जिल्लामा हेलिकप्टरमार्फत मतपत्र र सामग्री ढुवानी गरिने छ ।
त्यस्तै वि.सं. २०७९को निर्वाचनमा खरिद गरी बाँकी रहेका सेतो कोरा कपडा, स्वस्तिक छाप लगायतका सामग्री काठमाडौँ वरिपरि र नजिकका जिल्लामा पठाइसकिएको समेत आयोगले बताएको छ ।














