पोखरा । पोखराको प्रतिष्ठित गोल्डकप, आहा! रारा गोल्डकप नेपाली फुटबल प्रेमी र पोखरेलीहरुका लागि केबल प्रतियोगिता मात्र नभई यो पोखराको खेल–संस्कृति, प्रतिस्पर्धा र मनोरञ्जनको वार्षिक पर्व पनि हो ।
सहारा क्लब पोखराको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिताले २५ वर्षको गर्विलो इतिहास बोकेको छ ।
यस २५ वर्षको यात्रामा यो प्रतियोगिता केबल नियमित खेल तालिका मात्र नभई यसले मोफसलको फुटबललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन महत्वपूर्ण भूमिका समेत खेलेको छ ।
यस गोल्डकपले काठमाडौं बाहिर पनि उत्कृष्ट फुटबलको लागि सम्भावना छ भन्ने सन्देश दिन सफल भएको छ ।
यसै क्रममा क्लबले २५औँ संस्करणलाई ऐतिहासिक बनाउन यसको तयारी पूर्ण रूपमा शुरू गरेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
यस वर्ष क्लबको रजत जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको प्रतियोगिता झनै रोमाञ्चक, आकर्षक र प्रतिस्पर्धात्मक बन्ने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार विशेष आकर्षणका रूपमा प्रतियोगिता पहिलोपटक अस्थायी फ्लडलाइट जडान गरी नाइट म्याचका रूपमा सञ्चालन गरिनेछ । यसले पोखरेली फुटबल प्रेमी दर्शकलाई नयाँ र अविस्मरणीय फुटबलको अनुभव दिने विश्वास गरिएको छ ।
४ विदेशी टिमसहित १२ टोली सहभागी हुने यस प्रतियोगिता माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो ।
उनका अनुसार भारत, हङकङ र उज्वेकिस्तानका क्लबहरूको सहभागिताले प्रतियोगितालाई अन्तर्राष्ट्रिय रंग दिनेछ ।
प्रतियोगितामा घरेलुतर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड, सहारा क्लब पोखरा प्रतिस्पर्धाको मैदानमा उत्रिनेछन् ।
यस्तै विदेशी टोलीतर्फ उज्वेकिस्तानको आभा फुटबल क्लब, हङकङको गार्खा फुटबल क्लब र भारतको थन्डरबोल्ट नर्थ युनाइटेडले सहभागिता जनाउने पक्का भएको छ भने भारतकै एक टिमको अन्तिम टुंगो लाग्न बाँकी रहेको अध्यक्ष थापाले बताउनुभयो ।
“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं” भन्ने मूल नाराका साथ सञ्चालन हुने यस प्रतियोगितालाई थप गर्विलो बनाउन पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ ।
यसपटक प्रतियोगिताको उपाधि जित्ने टोलीले १४ लाख १ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ७ लाख १ हजार रुपैयाँ हात पार्नेछ ।
मुख्य प्रायोजकमा हिमश्री फुड्सको आहा१रारा तयारी चाउचाउ र पोखरा महानगरपालिकाको संरक्षकत्वमा आयोजना हुने गोल्डकपलाई राष्ट्रिय खेलकुद परिषद(राखेप), अखिल नेपाल फुटबल संघ(एन्फा), प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की तथा सहारा युके, सहारा हङकङ र सहारा क्लब अष्ट्रेलियाले विशेष सहयोग गरेका छन् ।
वि. सं.२०५५ सालमा स्थापित सहारा क्लब पोखरा एउटा फुटबल क्लब मात्र होइन, यो खेल र समाजसेवालाई एकैसाथ अगाडि बढाइरहेको उदाहरणीय संस्था पनि हो ।
विषेशगरी पोखरालाई फुटबलको शहरका रूपमा चिरपरिचित गराउन महत्त्वपूर्ण भूमिका खेलेको यस क्लबले मैदानमा जितको लागि जति पसिना बगाउने गर्छ त्यतिनै वर्षौंदेखि मैदानबाहिर पनि समाजका सयौंको जीवन जित्ने काममा पसिना बगाउँदै आइरहेको छ ।
सहारा क्लबको सबैभन्दा प्रेरणादायी पक्ष भनेको यसले स्थापना गरेको सहारा एकेडेमी हो। यस एकेडेमीले टुहुरा, विपन्न र असहाय बालबालिकालाई आवासको सुविधा सहित शिक्षा, स्वास्थ्य र खेल प्रशिक्षण समेत दिँदै आइरहेको छ ।














