पोखरा, माघ २२ । प्रेस चौतारी नेपाल कास्की शाखाले संगठनको २८ औं स्थापना दिवसको अवसरमा दुई जना पत्रकारलाई सम्मान र पुरस्कार अर्पण गरेको छ ।
बिहीबार आयोजित समारोहमा विष्णुप्रसाद सापकोटालाई यस वर्षको प्रेस चौतारी पत्रकारिता सम्मान र रामजीप्रसाद लम्साललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले सम्मान–पत्र र दोसल्लासहित दुवैलाई सम्मान गर्नुभयो ।
लम्साललाई सम्मान–पत्रसहित २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरियो ।
सम्मानपछि सापकोटाले संगठनले दुई दशक लामो आफ्नो त्रियाशीलतालाई स्मरण गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सम्मानले संगठनप्रतिको दायित्व बढेको महसुस भएको बताउनुभयो । पुरस्कृत पत्रकार लम्सालले अनेक ठक्कर–हण्डरबीच निरन्तर गरिरहेको कर्मको मूल्यांकन भएको बताउनुभयो । विगतको पुरस्कार, पुस्तक विमोचन र हाल प्राप्त पुरस्कार एमाले नेता अधिकारीकै हातबाट प्राप्त गर्ने संयोग मिलेको उहाँले सुनाउनुभयो ।
एमाले सचिव अधिकारीले देशको रक्षाका लागि पत्रकारको आवाज र कलम खुम्चिन नहुने बताउनुभयो । सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेकोमा उहाँले असन्तुष्टि जनाउनुभयो । सम्पूर्ण जनता र राजनीतिक दल एकताबद्ध भएर देशको विकासमा अघि बढ्न आवश्यक रहेको उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बराल, प्रेस सेन्टर कास्की अध्यक्ष दीननाथ बराल लगाएत बोलेका थिए ।
चौतारीले सम्मानित र पुरस्कृत व्यक्तित्व छनोट गर्न पूर्वपुरस्कृत एवं अग्रज पत्रकार श्यामनाथ कुँवरको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरेको थियो ।
त्यसमा पूर्वपुरस्कृत पत्रकार खेम सारु र दीपेन्द्र श्रेष्ठ सदस्य, संगठनका अध्यक्ष मोतिसागर अधिकारी र सचिव अनुप पौडेल पदेन सदस्य थिए ।
हालको पोखरा महानगरपालिका–३३ भरतपोखरी, डाँडा गाउँका लम्साल २७ वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । उहाँले २०५५ साल पुसमा तालनगरी साप्ताहिकबाट पत्रकारिता थाल्नुभएको थियो । उहाँसँग हिमचुली एफएम, पोखरा एफएम, रेडियो बाराही, जनता टेलिभिजनमा काम गरेको अनुभव छ । उहाँ हाल पोखरा एक्सप्रेस डटकममार्फत पत्रकारितामा सक्रिय हुनुहुन्छ । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका लम्साल रसियान भाषा, उद्घोषण, भाषण कला र नेतृत्व विकाससम्बन्धी प्रशिक्षक हुनुहुन्छ । उहाँलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले २०७९ सालमा उत्कृष्ट युवा वर्ष पत्रकार सम्मान प्रदान गरेको थियो ।
सापकोटा हालको मादी गाउँपालिका–४, तारकाङ ९साविकको थुमाको डाँडा गाविस–७० का स्थायी बासिन्दा हुनुहुन्छ । २०५८ सालमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका उहाँ हाल आदर्श समाज राष्ट्रिय दैनिकमा आबद्ध हुनुहुन्छ । मुख्यतः सञ्चारमाध्यमको व्यवस्थापकीय पाटोमा उहाँ सक्रिय हुनुहुन्छ । उहाँ प्रेस चौतारी नेपाल कास्कीका पूर्वकोषाध्यक्ष (२०६५ देखि २०६७ सम्म) हुनुहुन्छ । सापकोटा २०७२ सालमा आदर्श समाज दैनिकका उत्कृष्ट कर्मचारी घोषित भएका थिए । उहाँलाई चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८० मा सम्मान गरेको थियो ।
प्रेस चौतारी कास्कीले यसअघि राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ, मीना गुरूङ र गणेशमान गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ ।
प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्यामनाथ कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल, माधव बराल र इन्द्रप्रसाद पौडेल पुरस्कृत भइसकेका छन् ।














