पोखरा, पौष १ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित २१औँ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नारासहित पुष ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने यस महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा संघकी अध्यक्ष तथा महोत्सवकी मूल संयोजक जानुका पराजुली अधिकारीले वर्तमान विषम आर्थिक अवस्थाका बीच जेनजी आन्दोलनको प्रभावले प्रभावित उद्योग तथा व्यवसायलाई पुनर्जीवित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो ।
यससँगै व्यवसायी र उपभोक्ताको खस्किएको मनोबल उच्च बनाउँदै स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य महोत्सवले बोकेको उहाँको भनाइ छ ।
अध्यक्ष पराजुलीले लेखनाथ महोत्सवलाई क्रेता, विक्रेता र उपभोक्ताबीचको साझा थलो भएको बताउँदै यो महोत्सव अनौपचारिक विश्वविद्यालय भएको पनि बताउनुभयो । बिहीबारदेखि सुरु हुने महोत्सवमा यस वर्ष विविध र फरक आकर्षण समावेश गरिएको छ ।
जलपरी प्रदर्शन, कृषि–पर्यटन–उद्योगसम्बन्धी टक शो, टिकटक प्रतियोगिता, आर्ट एण्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य, शैक्षिक तथा साहित्यिक कार्यक्रम, विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने झाँकी तथा सांस्कृतिक प्रस्तुति महोत्सवका मुख्य आकर्षण रहनेछन् ।
यसका साथै ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी, युवा लक्षित पप तथा सुगम सङ्गीत कन्सर्टले दर्शकलाई भरपूर मनोरञ्जन दिने आयोजकले जनाएको छ ।
महोत्सवमा औद्योगिक तथा व्यापारिक सामग्री, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, बीउबिजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी लगायतका ३ सय ३५ वटा स्टल रहनेछन् ।
पर्यटन प्रवद्र्धन सामग्री तथा वित्तीय सेवासम्बन्धी जानकारीसमेत एकै थलोमा उपलब्ध हुने आयोजकले जनाएको छ ।
महोत्सव प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार महोत्सव अवधिमा करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र झण्डै ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी हुने, ८५ लाख रुपैयाँ खर्च भई करिब १० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।
यस्तै महोत्सवको टिकट दर विद्यार्थीका लागि ५० रुपैयाँ, साधारण प्रवेश १०० रुपैयाँ र कन्सर्ट टिकट २०० रुपैयाँ तोकिएको छ । जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सह(आयोजना, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा विभिन्न संघसंस्थाको सहयोग रहनेछ ।
गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि. मुख्य प्रायोजक रहेको महोत्सवको सह–प्रायोजकमा बीएलसी ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट र हेटौंडा डेरी रहेका छन् ।













