भुवन विश्वविद्यालका तीन पदाधिकारीको कार्यकक्षमा लागेको ताला ५ महिनापछि खुलेको छ । ताला खुलेसँगै आज सोमबारबाट त्रिविका तीन पदाधिकारी र कर्मचारी नियमित काममा फर्कने भएका छन् ।
नेविसंघले ताला खोलेको तीन दिनपछि हिजो आइतबार आंशिक शिक्षकले पनि ताला खोलेका हुन् । नेविसंघले माघ ७ र आंशिक शिक्षकले सोही महिनाको २० गतेबाट तालाबन्दी गरेका थिए ।एमाले निकट अनेरास्ववियुले तालाबन्दी फिर्ता नलिए ताला फोड्ने चेतावनी दिएलगत्तै आंशिक शिक्षकले तालाबन्दी फिर्ता लिने विषयमा त्रिविका पदाधिकारीसँग वार्ता गरेको थियो । आइतबार वार्ता भएर ५ बुँदे सहमति भएपछि ताला खोलिएको हो ।
आंशिक शिक्षकले ताला नखोले ताला फोड्ने योजनासहित अनेरास्ववियुका अध्यक्ष सुनिता बरालसहितको विद्यार्थी टोली बिहान साढे १० बजे नै त्रिवि पुगेको थियो । त्यसअघि नै त्रिवि वार्ता समिति र आंशिक शिक्षकबीच सहमति भएर ताला खोल्ने सहमति भएको थियो । सहमतिमा त्रिवि वार्ता समितिको तर्फबाट संयोजक विष्णुप्रसाद वाग्ले र आंशिक शिक्षकको तर्फबाट गोकुल लेछ्र्वो लिम्बुसहितको दुवै पक्षका सदस्यले हस्ताक्षर गरेका थिए । ताला भने विद्यार्थीले फोडेका थिए । आंशिक शिक्षकसँग तालाको चाबी नभएपछि विद्यार्थीले ताला फोडेको अनेरास्ववियु अध्यक्ष बरालले बताउनुभयो । लगातार बन्दका कारण त्रिविमा अर्बांै रुपियाँको क्षति भएको छ । दर्जनौं कार्यालय पाँच महिनासम्म बन्द हुँदा त्रिविका महत्वपूर्ण काम ठप्प भएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताउनुभयो । बन्दका कारण ६१ आंगिक क्याम्पसको त्रिविसँग जोडिएको काम ठप्प छ ।
तालाबन्दीको कारण आर्थिक र कर्मचारी प्रशासनको काम ठप्प भएको बताउँदै निर्देशक अधिकारीले भन्नुभयो– ‘सबै कार्यालय खोलेर कर्मचारीलाई नियमित काममा फर्कन अझै केही समय लाग्नसक्छ । बन्दको कारण त्रिविलाई करोडौं रुपियाँको क्षति भएको छ । यो क्षति पूरा गर्न र नियमित रूपमा त्रिवि सञ्चालन हुन केही महिना लाग्न सक्छ ।’सबै कार्यालय बन्द भएका कारण शिक्षक र कर्मचारीको वृति विकास ठप्प छ । क्याम्पस अनुगमन बन्द छ । सेवा आयोगको कुनै पनि काम हुन सकेको छैन । जागिरे अवधि पूरा गरेका कर्मचारीको निवृतिभरणको काम हुन सकेको छैन । त्रिविलाई कसरी अघि बढाउने भन्ने विषयमा कुनै योजना तयार गर्न नसकिएको निर्देशक अधिकारीले बताउनुभयो ।
तालाबन्दीको कारण उपकुलपति कार्यालयमा रहेको प्राज्ञिक परिषद् त्रिवि कार्यकारी परिषद्, योजना निर्देशनालय, अन्तर्राष्ट्रिय सम्बन्धन, र प्रमुख कानुनी सल्लाहकारको कार्यालय बन्द थियो ।शिक्षाध्यक्षको कार्यालयमा रहेका योजना तथा अनुगमन निर्देशनालय, अनुसन्धान केन्द्र, समन्वय महाशाखा, गुणस्तर प्रमाणीकरण तथा प्रत्यायन महाशाखा र विद्यार्थी कल्याण तथा खेलकुद महाशाखा बन्द थियो ।त्यस्तै, रजिस्टार कार्यालयको भवनभित्र रहेका आर्थिक प्रशासन, सामान्य प्रशासन, कर्मचारी प्रशासन महाशाखा, लेखापरीक्षण र सूचना तथा जनसम्पर्क महाशाखा बन्द छन् । आजबाट सबै कार्यालय खुल्ने भएका छन् ।
कार्यालय खुलेसँगै त्रिविमा बजेटको चटारो शुरू हनेछ । त्यसअघि यही असार २४ गते त्रिवि स्थापना दिवस मनाउने भएको छ । बजेटलगत्तै सिनेट बसेर त्रिविले बजेट नीति तथा कार्यक्रम तयार गर्नेछ । त्यस्तै, बजेट सभामा विभिन्न नीति र योजना तय गर्न सबै महाशाखाले पूर्ण रूपमा काम गर्न पाउने भएका छन् । आंशिक शिक्षकसँग भएको सहमतिमा २०७४ साल मंसिर ८ गते त्रिविमा कार्यरत १ हजार ४ सय २० आंशिक शिक्षकलाई करार गर्न १५ दिनभित्र पहल गर्नुपर्ने, रिक्त दरबन्दीको अध्ययन गरी त्रिविको नियमअनुसार आंशिक शिक्षकको समस्या समाधान गर्नुपर्ने, अतिरिक्त कक्षा व्यवस्थापन कार्यविधि २०७७ परिमार्जित गर्नुपर्ने लगायतका बुँदा उल्लेख छन् ।














