पोखरा, माघ ६ । नेपाली संगीत र दृश्य कथावाचनको क्षेत्रमा नयाँ भावनात्मक प्रस्तुति ‘भ्रामित’ युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
मौन प्रेम, नबोलेका भावनाहरू र प्रेमले ल्याउने अन्योलको कथालाई केन्द्रमा राखेर तयार गरिएको यो सिर्जना १८ जनवरी २०२६ मा औपचारिक रूपमा रिलिज गरिएको हो ।
‘भ्रामित’ ले प्रेमका ती पक्षहरूलाई उजागर गर्छ, जहाँ शब्दभन्दा भावना बलियो हुन्छ र मौनतामै धेरै कुरा लुकेका हुन्छन् ।
कथामा प्रेम, प्रतीक्षा र मनको द्वन्द्वलाई सरल तर गहिरो शैलीमा प्रस्तुत गरिएको छ ।
मुख्य भूमिकामा समिर गुरुङ र प्रसन्ना गुरुङ हुनुहुन्छ भने अतिथि कलाकारका रूपमा विश्वात्मा ताम्राकार र मुबी श्रेष्ठको उपस्थिति रहेको छ ।
उहाँहरूको अभिनयले कथालाई अझ जीवन्त बनाएको छ। यस परियोजनाको निर्देशन प्रदीप श्रेष्ठले गरेका हुन्। गीत लेखन, संगीत र स्वरमा तनिश कटिला र श्रिजल लामिछानेको सशक्त सहकार्य रहेको छ ।
संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रोहित रञ्जितले गरेका छन् भने गितार पनि उनैले बजाएका छन्। रेकर्डिङ कार्य अडियो लाइब्रेरी नेपालमा सम्पन्न गरिएको हो ।
भिडियो पक्षमा श्रेष्ट फोटो प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यस म्युजिक भिडियोको छायांकन प्रेम श्रेष्ठले गर्नुभएको हो, जसमा सह–छायांकन सुशान्त बीकेको रहेको छ ।
छायांकन स्थलका रूपमा आर्चिज ग्यालरी, कफी कल्चर र डिज्नील्यान्ड प्रयोग गरिएको छ। पोस्टर डिजाइन पनि निर्देशक प्रदीप श्रेष्ठकै कलामा तयार गरिएको हो । परियोजनालाई द हक्कु कलेक्सन, CEAD कन्सल्टेन्ट्स, काएसन स्टोर, समिट रञ्जित फोटोग्राफी, कफी कल्चर पोखरा, प्रोजेक्ट बाजा र नेपालीज कल्चरले सहयोग गरेका छन् ।
साथै, निर्माण टिमले थुप्रै सहकर्मी र शुभेच्छुकहरूप्रति विशेष धन्यवाद व्यक्त गरेको छ। ‘भ्रामित’ ले प्रेमका अव्यक्त अनुभूतिहरूलाई संगीत र दृश्यको माध्यमबाट प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।
भावनात्मक कथा, सरल प्रस्तुति र सशक्त संगीतका कारण यो सिर्जनाले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ । © तनिश कटिला र श्रिजल लामिछाने यस भिडियोसँग सम्बन्धित कुनै पनि सामग्रीको अनधिकृत प्रतिलिपि निषेध गरिएको छ ।















