पर्वत । पर्वतको कुश्मास्थित ३०० वर्ष पुरानो साँस्कृतिक तथा पुरातात्विक घर ‘शताब्दी घर’ मा एक दिवसीय ‘कलाको रूपमा सम्पदा’ चित्रकला कार्यशाला सम्पन्न भएको छ ।
कुश्मा कला परियोजनाको आयोजनामा आइतबार भएको एकदिने कला कार्यशालामा अग्रजदेखि अनुज पुस्ताका कलाकारले एकै थलोमा बसेर रङ र कुचीमार्फत आफ्ना भाव क्यानभासमा उतारेका छन् ।
कलाकारहरु कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई कलाकारहरुले क्यानभासमा उतारेका थिए ।
कार्यशालामा उनीहरुले अनुभव र सिकाइ साटासाट गर्दै कलाका आयामबारे विमर्श गरेका थिए । कुश्मा कला परियोजनाले राखेको मा पर्वत, बागलुङसहित धवलागिरि क्षेत्रका कलाकार सहभागी बनेका हुन् ।
तीन सय वर्ष पुरानो शताब्दी घर संरक्षण गरिरहेको परियोजनाले सोही स्थानमा कला कार्यशाला चलाएको हो ।
परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीले चित्रकला विधाको जगेर्नाका लागि कार्यशाला आयोजना गरिएको बताउनुभयो । उहाँले कलाकारको सम्मानसहित नयाँ पुस्तालाई चित्रकलामा आकर्षित गर्न कार्यशाला राखिएको जनाउनुभयो ।
कार्यशालामा पर्वत, कुश्माका विभिन्न विद्यालयका झण्डै २०० विद्यार्थी सहभागी थिए । विद्यार्थीले चित्र कोरे । पाकापुराना कलाकारले क्यानभासमा कोरेका आकृति अवलोकन गरेका थिए ।
धवलागिरि क्षेत्र आफैँमा कलाको उर्बर क्षेत्र भएकाले यस क्षेत्रको कला गतिविधिलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने अध्यक्ष गिरीले बताउनुभयो । कार्यशालामा कोरिएका चित्रलाई शताब्दी घरमा सङ्ग्रह गरिने उहाँको भनाइ छ ।
परियोजनाले शताब्दी घरलाई सांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन र सम्पदा संरक्षणका क्षेत्रमा परियोजना क्रियाशील छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले कार्यशालाले कलाको वातावरण सिर्जना गर्न मद्दत पु¥याएको बताउनुभयो । उहाँले कलाकारहरुबीच सिक्ने, सिकाउने अवसर बनेको बताउदै कलाप्रतिको सम्मानका लागि यस किसिमका गतिविधि हुनु आवश्यक रहेको बताउनुभयो ।
कुश्माको कार्यशालामा प्रतिष्ठानले सहकार्य गरेको जनाउदै सदस्य सचिव थुम्केलीले धवलागिरि क्षेत्रलाई समेटेर आगामी दिनमा ललिताकला सम्बन्धी कार्यशाला र प्रदर्शनीको आयोजना गर्ने योजना रहेको सुनाउनुभयो ।
प्रतिष्ठानका प्राज्ञ सदस्य राधी कँडेलले राजधानी र ठूला सहरमा मात्र हुँदै आएका कला प्रवद्र्धनका कार्यक्रमलाई विकेन्द्रित गर्ने प्रयास गरिएको बताउनुभयो ।
नवलपुरको गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीम शर्माले कार्यशालाले प्रतिभा पहिचान गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले आगामी माघ १५ गतेदेखि गैँडाकोटमा हुने गण्डकी प्रदेशस्तरीय कला प्रदर्शनीमा धवलागिरि क्षेत्रका कलाकारहरुको सहभागिता रहने बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुने उक्त प्रादेशिक कला प्रदर्शनीबाट छनोट भएका कलाकृतिलाई राष्ट्रिय प्रदर्शनीमा सहभागी गराइने जनाइएको छ ।
बागलुङका कलाकार मछिन्द्र शाक्यले यस प्रकारको कार्यशालाले समुदायमा कलाको महत्व बढ्नुका साथै कार्यशाला पुरानो र नयाँ पुस्ताका कलाकारलाई जोड्ने सेतु बनेको बताउनुभयो । यसले कलाको उजागर मात्र होइन, उनीहरूको पहिचान, सहभागिता र गौरवपूर्ण इतिहासको खोजी गर्न सहयोग र्पुयाउने उहाँको भनाई थियो ।
शाक्यसहितका केही कलाकारले शताब्दी घर र त्यहाँ सङ्ग्रहित परम्परागत सामग्रीलाई क्यानभासमा उतारेका थिए । कतिपयले प्रकृति, संस्कृति पर्यावरण, जनजीवन आदि झल्काउने चित्र कोरेका थिए ।
धौलागिरिका कलाकारहरूसँग अन्तरसांस्कृतिक सम्वाद गर्न पाउनु र एकैथलोमा आफ्ना कलालाई अग्रजहरूसँग साट्न पाउँदा आफूहरू खुसी भएको कार्यशालामा सहभागीहरूको प्रतिक्रिया थियो ।
कार्यशालामा क्यानभास, मेटल, मूर्ती र काष्ठकला अन्तर्गतका ३७ थान कला सहभागीहरूले तयार गरेका थिए ।













