मिस तामाङ पोखरा शुरु, तामाङ समुदायका १२ युवती सहभागी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, मंसिर २९ । मिस तामाङ पोखरा–२०२६ औपचारिक रूपमा सुरु भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा सोनाम ल्होसारको अवसरमा हरेक वर्ष मिस तामाङ पोखरा सञ्चालन हुँदै आएको छ ।
समाजका अध्यक्ष ज्याक तामाङले तामाङ समुदायका छोरी–चेलीलाई भाषा, संस्कार र संस्कृति सिकाउँदै उहाँहरूको व्यक्तित्व, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम निरन्तर आयोजना गरिँदै आएको बताउनुभयो ।
मिस तामाङ पोखरा–२०२६ अन्तर्गत सञ्चालन गरिएको तालिम तथा ओरिएन्टेशन कार्यक्रमको उद्घाटन तामाङ भाषाविद् अजितमान तामाङले गर्नुभएको थियो ।

उद्घाटन समारोहमा उहाँले तामाङ भाषा, संस्कार र सांस्कृतिक पहिचान संरक्षणमा युवा पुस्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रमका अवसरमा बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले मिस तामाङ पोखरा सौन्दर्य प्रतियोगिता मात्र नभई सांस्कृतिक चेतना र सामाजिक जिम्मेवारी विकास गर्ने अभियान भएको उल्लेख गर्नुभयो । उहाँले तामाङ समुदायका छोरी–चेलीले आफ्नो भाषा, पहिचान र संस्कार बुझेर अघि बढून् भन्ने उद्देश्य रहेको र मिस तामाङ पोखरा समुदायको गौरव र भविष्य निर्माण गर्ने मञ्च भएको बताउनुभयो ।
कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङले प्रतियोगिता मार्फत युवतीहरूमा आत्मविश्वास, नेतृत्व र सामाजिक चेतना विकास गराउने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार मिस तामाङ पोखराले तामाङ समुदायका छोरी–चेलीलाई आफ्नो मौलिकता चिन्न र समाजमा सक्षम रूपमा प्रस्तुत हुने अवसर प्रदान गर्दै आएको छ ।

तालिम संयोजक तथा रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्लले तालिमलाई केवल प्रतियोगिताको तयारीमा सीमित नराखी जीवन उपयोगी सीप, बोल्ने कला र सांस्कृतिक ज्ञानमा केन्द्रित गरिएको जानकारी दिए । कार्यक्रममा नेपाल जेसिसका पूर्व अध्यक्ष राजु कसी, नेपाल तामाङ घेदुङका पुर्व केन्द्रिय उपाध्यक्ष, नेपाल तामाङ घेदुङका गण्डकी उपाध्यक्ष रामबहादुर ब्लोन शिबु, डान्स कोरियोग्राफर राम लामा, कोरियोग्राफर जिता लामा लगायतले बोेलेका थिए ।
कार्यक्रमको सञ्चालन सुनिता लामाले गर्नुभएको थियो ।
मिस तामाङ पोखरामा १२ जना तामाङ समुदायका युवतीहरु सहभागी छन् । जसमा रोज स्याङदेन लामा, कविना घिसिङ तामाङ, सोनी पाख्रिन तामाङ, माया दुम्जन तामाङ, खुसी मोक्तान तामाङ, सुप्रिया गोले तामाङ, सलिना स्याङदेन तामाङ, सोममाया मोक्तान तामाङ, एन्जेल लामा, सुमित्रा तामाङ, खुसी लामा, प्रभा तामाङ रहेका छन् ।
प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नुहुनेछ । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ प्राप्त गर्नुहुनेछ । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्नुहुनेछ ।
आयोजकका अनुसार मिस तामाङ पोखरा–२०२६ अन्तर्गत विभिन्न चरणमा भाषा, संस्कृति, व्यक्तित्व विकास र नेतृत्वसम्बन्धी तालिम सञ्चालन गरिनेछ भने ग्रान्ड फिनाले सोनाम ल्होसारको अवसरमा यहि माघ ३ गते शनिबार हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला