निट पत्रकारिता पुरस्कारबाट भरत कोइराला सम्मानित

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित हुनुभएको छ ।

पुरस्कार स्थापना गर्ने निट डेन्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार पोखरामा आयोजित समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकार कोइरालालाई नगद र सम्मानपत्र प्रदान गर्नुभयो । उहाँलाई नगद २५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको हो ।
फोनिज गण्डकीले सञ्चालन गर्ने गरी निट डेन्टलले पत्रकारिता पुरस्कारका यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । पुरस्कृत व्यक्तित्व कोइराला हाल समाधान मिडिया ग्रुप अन्तर्गतको समाधान न्युज डटकमका सम्पादक हुनुहुन्छ । स्याङ्जा पुतलीबजारका कोइरालाले विसं २०५९ देखि काठमाडौंमा रहेर अन्नपूर्ण पोस्टबाट पत्रकारिता सुरु गर्नुभएको थियो ।

पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले विसं २०६५ देखि पोखरालाई कर्मथलो बनाएर सक्रिय हुनुहुन्छ । पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले लेकसिटी कलेज र भद्रकाली माविमा अध्यापन समेत गराउनुहुन्छ । उहाँ संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष हुनुहुन्छ भने गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक भएर पनि काम गर्नुभएको थियो । यसअघि उहाँले पोखरा आर्थिक पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार प्राप्त गरिसक्नुभएको छ । पुरस्कार ग्रहणपछि पत्रकार कोइरालाले निजी क्षेत्र सबल भए मात्र यस क्षेत्रले लोकतन्त्रको पहरेदार मानिने पत्रकारिताको महत्व बुझ्ने बताउनुभयो । त्यसपछि पत्रकारिता क्षेत्रको सबलीकरण हुने उहाँको भनाइ थियो ।
निट डेण्टलले फोनिज गण्डकीसँग सहकार्य गरेर यो पुरस्कार स्थापना गर्नुलाई मैले निजी क्षेत्रको विवेकपूर्ण र सकारात्मक कदमका रूपमा लिएको उहाँले बताउनुभयो । कार्यक्रममा उहाँले पत्रकारिता अहिले संक्रमणकाल र आर्थिक मन्दीको दोहोरो चपेटामा बताउनुभयो ।
यस्तो अवस्थामा पोखरामा रहेर पत्रकारिता गर्दा काठमाडौंका राष्ट्रिय मुद्दाको नक्कल गर्नुभन्दा पोखराका स्थानीय ‘इश्यु’ लाई प्रधानता दिनुपर्ने उहाँको सुझाव थियो ।
कार्यक्रमका मेयर आचार्यले आदिवासी जनजाति पत्रकार (फोनिज) ले स्थापना गरेको पुरस्कारबाट अन्य समुदायका पत्रकारलाई सम्मान गरी फोनिजले समावेशीताको सन्देश दिएको बताउनुभयो । जताततै खत्तम देखिरहेको समाजमा जनतालाई सही सूचना सम्प्रेषण गरी पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका पत्रकारलाई सम्मान गरिएको उहाँले खुसी व्यक्त गर्नुभयो । पत्रकारलाई हौसला प्रदान गर्न पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने निट डेण्टलले पनि उल्लेखनीय काम गरेका उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले फोनिजले स्थापना गरेको पुरस्कार पहिलोपटक गैरफोनिज पत्रकारमा प्राप्त गर्नुले सकारात्मक सन्देश दिएको बताउनुभयो । पौडेलले विश्वमै महँगो उपचार मानिने दाँत उपचार भएको बताउदै निटले गण्डकीकै आफूलाई स्थापित गर्न सके राम्रो बताउनुभयो । उहाँले पोखरामा वेलनेस टुरिजम विकास हुँदै गएको बताउनुभयो ।
निट डेन्टलका प्रबन्ध निर्देशक वीरबहादुर राना (वीरेन) ले आफू खास धनाढ्य भएर नभई केही नयाँ गरौं भन्ने सोचले पुरस्कार स्थापना गरेको प्रस्ट पार्नुभयो । रानाले पत्रकारको हितमा अक्षयकोष स्थापना गरेको बताउनुभयो ।
प्रतिभा छनोटका लागि फोनिजका संघीय सचिव एमबि आस्थामगरको संयोजकत्वमा समिति गठन गरिएको थियो । समिति सदस्यमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, अध्यक्ष खिमा गुरुङ, अनुशासन समिति संयोजक मीना थापा मगर र महासचिव सुरज थापामगर थिए ।

संयोजक आस्था मगरले पुरस्कार वितरणको मापदण्ड र छनोट प्रक्रिया र पुरस्कृत पत्रकारबा बारेमा प्रकाश पार्नुभएको थियो ।
फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको समारोहमा स्वागत उपाध्यक्ष धनबहादुर गुरुङ र सञ्चालन महासचिव सुरज थापामगरले गर्नुभएको थियो ।
पोखरामा महेन्द्रपुल सञ्चालित नट डेन्टलले वार्षिकोत्सवका अवसरमा कम्पनीमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूलाई सम्मान पनि गरेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला