पोखरा, पौष ८ । पोखरा महानगरपालिका वडा नं. २१ मा पहिलो पटक सुन्तला महोत्सव आयोजना हुने भएको छ ।
“नेपालको राष्ट्रिय फल सुन्तलाको उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग” भन्ने नाराका साथ उक्त महोत्सव हुने भएको हो ।
विषेशगरी यस महोत्सवले कृषक र उपभोक्ताबीचको दूरी घटाउँदै बिचौलिया प्रणालीलाई अन्त्य गर्ने अपेक्षा गरिएको छ ।
महोत्सव पोखरा २१ को आयोजनामा, वडास्तरीय कृषि सञ्जाल पोखरा २१ को समन्वय र पोखरा महानगरपालिका कृषि विकास शाखाको सहयोगमा कृषि पर्यटन तथा स्थानीय उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले हुने भएको हो ।
पोखरा २१ स्थित कृस्ती दोपरे हर्राबोट क्षेत्रमा यही पौष १० गते बिहीबारबाट उक्त महोत्सव हुने वडाध्यक्ष दीपक बहादुर सुवेदीले जानकारी दिनुभएको छ ।
वडाध्यक्ष सुवेदीले पोखरा–२१ भित्र उत्पादन हुने सुन्तलाले पोखराको कुल उत्पादनको झण्डै ५० प्रतिशत हिस्सा ओगट्ने बताउँदै यहाँ उत्पादन हुने सुन्तलालाई व्यवस्थित बजारसम्म र्पुयाउने मुख्य उद्देश्यका साथ महोत्सवको तयारी गरिएको बताउनुभयो ।
महोत्सवमा १८ देखि २० वटा स्टल रहनेछन् । ती स्टलहरूमा सुन्तलासँगै स्थानीय रैथाने उत्पादनहरू जस्तै कफी, मह, घिउ, कोदो, पिणालु, अदुवा लगायतका कृषि उपजहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ ।
उहाँका अनुसार यसले स्थानीय उत्पादनको पहिचान बढाउनुका साथै कृषकलाई आफ्नै उत्पादन प्रस्तुत गर्ने अवसर प्रदान गर्ने विश्वास छ ।
यस महोत्सवमा स्थानीय किसानले प्रत्यक्ष रूपमा उपभोक्तासँग सम्पर्क गरी आफ्नो उत्पादन बिक्री गर्न पाउने हुँदा कृषकहरुमा एक प्रकारको उत्साहसँगै उचित मूल्य दिलाउन सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
महोत्सवमा आगन्तुकहरूले बजार मूल्यभन्दा १० देखि २० रुपैयाँ सस्तो दरमा ताजा र अर्गानिक सुन्तला खरिद गर्न पाउनेछन् ।
वडाध्यक्ष सुवेदीका अनुसार यस महोत्सवमा प्रति केजी करिब ९० देखि १ सय २० रुपैयाँ सम्ममा सुन्तला उपलब्ध गराइने छ ।
यसले उपभोक्तालाई गुणस्तरीय फल सस्तो मूल्यमा उपलब्ध गराउने र कृषकलाई उचित प्रतिफल दिलाउने दुवै उद्देश्य पूरा गर्ने अपेक्षा गरिएको छ ।
विगतमा बिचौलिया तथा ठेकदारका कारण कृषकले आफ्नो उत्पादनको उचित मूल्य नपाएको गुनासो रहँदै आएको थियो । तर यस महोत्सवमार्फत सुन्तला सिधै उपभोक्तासम्म पुग्ने भएकाले कृषकले आफ्नो पसिनाको सही मूल्य पाउने र आगामी दिनमा उत्पादन बढाउन थप हौसला मिल्ने विश्वास आयोजकको छ ।
महोत्सवको विशेष आकर्षणका रूपमा कृषक सम्मान कार्यक्रम समावेश गरिएको छ। पोखरा महानगर कृषि महाशाखासँगको समन्वयमा सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने करिब तीन जना उत्कृष्ट कृषकलाई विशेष सम्मान गरिने तयारी छ ।
यसका साथै महोत्सवमा सुन्तला खाने प्रतियोगिता, सुन्तला ग्रेडिङ प्रतियोगिता, उत्कृष्ट स्टल सजावट, झाँकी प्रदर्शन, ग्राहकले आफैँ सुन्तला टिपेर खरिद गर्ने व्यवस्था, स्थानीय कलाकारहरूको कृषि तथा सुन्तलासम्बन्धी गीत प्रतियोगिता, कृषि तथा सुन्तला खेतीसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता जस्ता कार्यक्रमहरू समेत हुने आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर करिब ३० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । यसले पोखरा–२१ मात्र नभई समग्र पोखरा महानगरभित्रका स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास लिइएको छ ।
पोखरा हिमाल, ताल र पर्यटनका लागि मात्र नभई स्वादिलो र स्वस्थ सुन्तलाका लागि पनि चिनिँदै गएको छ ।
यहाँ उत्पादन हुने सुन्तलामा विषादी तथा रासायनिक मलको प्रयोग न्यून हुने भएकाले यी सुन्तलाहरू स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छन् ।
स्वच्छ हावा, उपयुक्त तापक्रम र पहाडी भौगोलिक बनावटले पोखराको सुन्तलालाई विशेष मिठास र सुगन्ध प्रदान गरेको छ ।
हाल पोखरा महानगरभित्र करिब ३ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ ।
यसबाट वार्षिक सुन्तला उत्पादन क्षमता झण्डै ४ हजार मेट्रिक टन पुगेको पोखरा महानगरका कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पोखरामा सुन्तला खेतीका दृष्टिले वडा नं. २१ र २२ प्रमुख क्षेत्र मानिन्छन्। वडा नं. २१ अन्तर्गत कृष्ती, दोपरे, पोखरेल थोक, स्यार्थुङ, पाटन, मासपाटन र काफलवोटे क्षेत्र मुख्य पकेट क्षेत्र हुन् ।
त्यस्तै वडा नं. २२ को खाल्से क्षेत्र सुन्तला खेतीका लागि प्रसिद्ध छ । तर पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण केही क्षेत्रमा सुन्तलाका बोट मर्नेदेखि अन्य समस्या देखिएपछि खेती विस्तारै माथिल्लो उचाइतर्फ सर्दै गएको छ ।
यसलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले विगत चार वर्षमा करिब ८० लाख रुपैयाँ सुन्तला बगैँचा व्यवस्थापनमा सहयोग गरेको छ ।
यसैबीच असिनाबाट जोगाउन असिना छेक्ने जाली (हेल नेट) मा समेत महानगरले अनुदान दिँदै आएको उहाँले बताउनुभयो ।
कडरियाले यस सुन्तला महोत्सवले कृषि र पर्यटनलाई जोड्दै नयाँ सम्भावना बाटो खोलेको बताउँदै सुन्तला बगान अवलोकन, फल टिप्ने अनुभव र स्थानीय उत्पादनको स्वाद लिन पाउने अवसरले नयाँ पुस्तालाई समेत आकर्षित गर्ने विश्वास लिएको बताउनुभयो ।
यसले हाल सञ्चालनमा रहेको “पोखरा भ्रमण वर्ष २०२५” लाई सफल बनाउन पनि सहयोग र्पुयाउने अपेक्षा गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
आयोजकका अनुसार यो महोत्सवलाई आगामी वर्षहरूमा अझ ठूलो र व्यवस्थित बनाउँदै अन्य फलफूल तथा खेतीहरूलाई समेत समेटेर नियमित र दीर्घकालीन महोत्सवका रूपमा विकास गर्ने योजना छ ।
यसबाट कृषि क्षेत्रको व्यवसायीकरण, रोजगारी सिर्जना र स्थानीय उत्पादनको ब्रान्डिङमा टेवा पुग्ने विश्वास लिइएको छ ।
त्यस्तै यस महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
बिचौलियाको अवरोध हटाउँदै कृषकको मिहिनेतको सही मूल्य सुनिश्चित गर्ने र उपभोक्ताको भान्सासम्म सस्तो, ताजा र गुणस्तरीय फल र्पुयाउने उद्देश्य बोकेको यो महोत्सव स्थानीय कृषि विकासको एक महत्वपूर्ण कोशेढुंगा बन्ने विश्वास समेत लिइएको आयोजकले जनाएको छ ।













