पोखरा, माघ ११ । मुलुकका सातै प्रदेशमा राष्ट्रिय सभा सदस्यका रिक्त पदका लागि आइतबार भएको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चलेको मतदानमा जनप्रतिनिधिहरूको उत्साहजनक सहभागिता रह्यो । मतदान कार्य सकिएलगत्तै गण्डकी र कोशी प्रदेशमा मतपेटिका सिलबन्दी गरी गणना प्रक्रिया समेत अघि बढाइएको छ ।
गण्डकी प्रदेशको पोखरास्थित मतदान केन्द्रमा भएको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेश सभा सदस्यहरूले उल्लेख्य सहभागिता जनाएका थिए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्धारण गरिएको समयसीमाभित्र दुबै प्रदेशमा शान्तिपूर्ण र उत्साहजनक वातावरणमा मतदान भएको हो बताउनुभएको थियो ।
समय सकिएलगत्तै मतपेटिका सिलबन्दी गरी मतगणना प्रक्रिया अघि बढाइएको कोशी प्रदेश र गण्डकी प्रदेश क्षेत्रका निर्वाचन कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानेका अनुसार दिउँसो ३ बजेभित्रै सबै प्रक्रिया पूरा गरी गणनाको तयारी थालिएको थियो ।
गण्डकीमा कुल २ सय २३ मत खसेको छ । कोशीमा ३४५ मत खस्यो कोशी प्रदेशको विराटनगरमा भएको मतदानमा कुल ३ सय ४५ मत खसेको छ ।
गण्डकी प्रदेशमा स्थानीय तह अन्तर्गत कुल १ सय ६९ मतदाता रहेकोमा १ सय ६६ मत खसेको छ । जसमध्ये १ सय २ पुरुष र ६४ महिला मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
त्यस्तै प्रदेश सभा सदस्यतर्फ ५९ मतदाता मध्ये ५७ मत खसेको छ । यसमा ३७ पुरुष र २० महिला सदस्यले मतदान गरेका छन् ।
कोशी प्रदेशमा त्यहाँ स्थानीय तहतर्फ २ सय ५८ र प्रदेश सभातर्फ ८७ जना गरी कुल ३ सय ४५ जनाले मतदान गरेका छन् ।
कोशीमा कुल २ सय ६७ स्थानीय तह र ९२ प्रदेश सभा सदस्य मतदाता रहेकामा अधिकांशले मताधिकार प्रयोग गरेका छन् ।
प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख मतदाता रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकीमा कास्कीको प्रदेश निर्वाचन कार्यालय पोखरा, कोशीमा कोशी प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर, मधेसमा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर, बागमतीमा भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा मतदान भएको थियो ।
त्यस्तै लुम्बिनीमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णालीमा प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत तथा सुदूरपश्चिममा प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान भएको थियो ।














