
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गर्नुभएको छ ।
अनुगमन क्रममा मन्त्री थापा पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालय तथा महतगौडास्थित श्री जानकी माध्यमिक विद्यालय पुगेर परीक्षाको व्यवस्थापन, विद्यार्थीहरूको उपस्थिति र परीक्षा वातावरणबारे जानकारी लिनुभएको थियो ।
मन्त्री थापाले परीक्षा केन्द्रहरू सुव्यवस्थित, मर्यादित र शान्त वातावरणमा सञ्चालन भइरहेकोमा सन्तोष व्यक्त गर्दै परीक्षार्थीहरूको आत्मविश्वास, तयारी र अनुशासन प्रशंसनीय रहेको बताउनुभयो ।
“विद्यार्थीहरू उत्साहित र आत्मविश्वास देखिए, जसले उनीहरूको राम्रो तयारीको संकेत गर्छ। परीक्षा मर्यादित र व्यवस्थित रूपमा सञ्चालन भइरहेकाले सबै पक्षलाई धन्यवाद दिन्छु”, मन्त्री थापाले भन्नुभयो ।
उहाँले सम्पूर्ण परीक्षार्थीहरूलाई सफल परीक्षाको शुभकामना दिँदै परीक्षाको निष्पक्षता, विश्वसनीयता र सुरक्षामा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । साथै, उहाँले परीक्षाका क्रममा कुनै अव्यवस्था हुन नदिन सम्बन्धित निकायलाई सचेत रहन निर्देशन पनि दिनुभएको छ ।