पोखरामा “प्रथम नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२५” चैत्र १४ गतेदेखि

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । “प्रथम नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२५” हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको सहयोगमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनद्वारा चैत्र १४ गतेदेखि १७ गतेसम्म उक्त अटो शो हुने भएको हो ।

बुधबार पत्रकार सम्मेलन गरी पहिलो पटक पोखरामा हुन लागेको यस अटो शोको बारेमा जानकारी दिइएको हो ।

सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकासतर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचि बढिरहेको अवस्थामा पोखरा–१२ स्थित अमरसिंह खेलकुद मैदानमा ४ दिनसम्म उक्त अटो शो हुनेछ ।

नविनतम् सवारी साधनका मोडलहरू, आधुनिक प्रविधिहरू तथा यस क्षेत्रका अन्य सेवा प्रदायकहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५ मा स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरूको भेलाले गण्डकी प्रदेशमा सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास यस शोबाट गरिएको छ ।

त्यस्तै यस प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यावसायिक समस्याहरूको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्पहरु खोज्ने साझा थलो बन्ने सक्ने पनि आयोजकहरुको विश्वास रहेको छ ।

राष्ट्रिय महत्वका आयोजनाहरू तथा स्थानीय विकासका कार्यक्रमहरू सवारी साधन बिना कल्पना मात्र पनि गर्न नसकिने अवस्था छ भने सर्वसाधारणको दैनिक जीवनलाई सहज एवं चलायमान बनाउनको लागि पनि सवारी साधन अत्यावश्यक वस्तुको रुपमा स्थापित भैसकेको वाडाका उपाध्यक्ष एंव वाडा अटो शो २०२५ का संयोजक निरन के.सी.ले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदर्शनीमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहने छन् ।

यस्तै सो प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने छन् भने पोखरा लायन्स क्लबको सहयोगमा चैत्र १५ गते प्रदर्शनी परिसर भित्र रक्तदान कार्यक्रम समेत सञ्चालन गरिनेछ ।

स्थानीय व्यवसाय र आर्थिक गतिविधिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा सहित आयोजना गरिएको यस शोमा प्रख्यात ब्राण्डहरू जस्तै टाटा, हुन्डाइ, सुजुकी, टोयोटा, महिन्द्रा, निसान, रोयल इन्फिल्ड लगायतका ब्राण्डहरूका सवारीसाधनहरु प्रदर्शन गरिनेछ ।

यो शोले सवारीसाधन र व्यवसायका पारखीलाई मात्र नभई स्थानीय र पर्यटकलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनीको व्यापक प्रचार–प्रसारका लागि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसन र गण्डकी प्रदेश अटोमोबाइल संघको संयुक्त आयोजनामा चैत्र ९ गते शनिबार विहान ८ बजे पोखरा रंगशालाबाट मोटर्र याली शुरु गरि अमरसिंहमा सम्पन्न हुने पनि आयोजना जनाएको ।

४ दिनसम्म चल्ने यस अटो शोलाई ३५ हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास लिएको समेत कार्यक्रम संयोजक के.सी.ले बताउनुभयो ।

पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसन (WADA) नेपालमा अटोमोबाइल क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको एक संगठन हो ।

यसले पश्चिमाञ्चल क्षेत्रका अटोमोबाइल्स डिलर्सहरूलाई एकताबद्ध गर्दै व्यापारको विकास र ग्राहकहरूको हित संरक्षण गर्नका लागि काम गर्दै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला