
पोखरा । प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई जना पत्रकारलाई सम्मान र पुरस्कृत गरिएको छ ।
प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गरिएको छ । ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८१’ पत्रकार ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिएको छ ।
पौडेललाई नगद २२ हजार २ सय २२ सहित पुरस्कृत गरिएको हो । उहाँहरूलाई प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे र राजेश राई, नेकपा (एमाले) कास्कीका नेतासहितले सम्मान–पत्र प्रदान गरेका थिए ।
प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक रहेको प्रतिभा छनौट समितिले गुरूङलाई सम्मान र पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।
सम्मानित व्यक्तित्व गणेशमान गुरूङ २६ वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । स्याङ्जा सिरूबारीमा जन्मिनुभएको उहाँ पोखरा–१५ का स्थायी बासिन्दा हुनुहुन्छ ।
गुरूङले २०५५ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गर्नुभएको थियो । हिमचुली एफएम, गोल्डेन आई टेलिभिजन हुँदै २०६४ देखि सगरमाथा टेलिभिजनमा आबद्ध रही १३ वर्षदेखि समाचार सम्पादक पदमा कार्यरत हुनुहुन्छ । बी.एलसम्म अध्ययन गर्नुभएको गुरूङले २०७७ मा ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट विभूषित भइसक्नुभएको छ ।
पुरस्कृत पत्रकार इन्द्रप्रसाद पौडेल २१ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय हुनुहुन्छ । २०६० सालमा समाधान र पोखरा हटलाइन दैनिकमा संवाददाता र फोटो पत्रकारिता गरेका पौडेल २०६२ सालदेखि कान्तिपुर टेलिभिजनमा आबद्ध हुनुहुन्छ । यस्तै, मैदानन्यूज डटकमको संस्थापक सञ्चालक हुनुहुन्छ ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष पौडेल नेपाल पत्रकार महासंघ गण्डकीको संस्थापक सचिव, पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद् पनि हुनुहुन्छ ।
पौडेलले प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार २०७२, सहारा क्लब पोखरा, फोटोग्राफर संघ पोखबाट सम्मान प्राप्त गर्नुभएको छ । पोखरा ७ निवासी पौडेलले बिए अध्ययन र २ वर्षे सीएमए पनि गर्नुभएको छ ।
प्रेस चौतारी कास्कीले राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ र मीना गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ ।
प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल र माधव बराल पुरस्कृत भइसकेका छन् ।