नवलपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा बिहीबार चित्रकार भीमप्रसाद शर्माको १२औँ एकल चित्रकला प्रदर्शनी ‘कुण्डलिनी’को उद्घाटन गर्नुभएको छ ।
चित्रकार शर्माले प्रदर्शनीमा राख्नुभएको चित्रकलाले जीवन दर्शन प्रस्तुत गर्न खोजेको मन्त्री पाण्डेले बताउदैं मन्त्री पाण्डेले गैँडाकोटको यस चित्रकलालाई प्रदेश हुँदै केन्द्रसम्म प्रदर्शनी गर्न सहयोग गर्ने बताउनुभयो ।
शर्माको एकल चित्रकला प्रदर्शनीमा जीवन दर्शनसँग सम्बन्धित विभिन्न ३७ वटा चित्र राखिएका छन् ।
कार्यक्रममा संविधानसभा सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसीले नवलपुर क्षेत्र कला र संस्कृतिको खानी भएको भन्दै यसको संरक्षणका लागि केन्द्रबाटै पहल गर्नुपर्ने बताउनुभयो ।
चित्रकला प्रदर्शनीमा नेपाल संस्कृत विश्वविद्यालय दाङका प्रा डा गुरुप्रसाद सुवेदीले चित्रहरू पाशुपत दर्शनमा आधारित रहेको बताउनुभयो ।
कलाकार शर्माले नगेन आर्ट डट कम द्वारा आयोजित “कलाकारका लागि कलाकार” अन्तराष्ट्रिय खुला अनलाइन कला प्रतियोगिता तथा प्रदर्शनी २०२२ साल्वाडोर डाली इन्टरनेशनल अवार्ड पाएको चित्रकला पनि प्रदशनीमा राखिएको छ ।
गैँडाकोट–५ स्थित गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको जानकी ग्यालरीमा बिहिबारबाट सुरु भएको प्रदर्शनी आगामी मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा राखिएका चित्रहरू कोर्न तीन वर्ष लागेको कलाकार शर्माले बताउनुभयो ।