
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले कारागार कार्यालय कास्कीको निरीक्षण गर्नुभएको छ ।
शुक्रबार कारागारमै पुगेर उनले बिरामी भएका ९२ जना कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।
डेंगी लगायत विभिन्न रोग लागेर बिरामी भएका कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको मन्त्री थापाले बताउनुभयो ।
“कास्की कारागारको आज निरिक्षण गरेको छु । बिरामी भएका ९२ जना कैदीबन्दीहरुको स्वास्थ्यमा विस्तारै सुधार आएको रहेछ । उहाँहरुलाई आवश्यक पर्ने औषधि लगायत पोसिलो आहारको समेत व्यवस्था गरिएको छ ।”, उहाँले भन्नुभयो ।
मन्त्री थापाले कारागारमा देखिएको खानेपानी लगायतका अन्य समस्याका विषयमा समेत जानकारी लिएको बताउनुभयो ।
कारागारमा भएका समस्यालाई समाधान गर्न आफु लाग्ने प्रतिबद्धता समेत उनको छ । कास्की कारागार पहिले भन्दा व्यवस्थित भएको उहाँले बताउनुभयो ।
“कारागार पहिले भन्दा व्यवस्थित रहेछ । सरसफाईमा समेत ध्यान दिएको पाए । आवश्यक सामान बिक्रीमा कारागार भित्र हुने गरेको मुल्यवृद्धिमा समेत ध्यान दिन निर्देशन दिएको छुु ।”, उहाँले भन्नुभयो ।
कैदीबन्दीहरुले प्रेसर, सुगर लगायतको नियमित खाइरहने औषधि निशुल्क उपलब्ध गराउन माग गरेको र त्यस विषयमा स्वास्थ्य मन्त्रालयका सचिवलाई समेत निर्देशन गराइसकिएको उहाँले बताउनुभयो ।
कास्की कारागारमा अहिले ७८३ जना कैदीबन्दी रहेका छन् ।