
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चाँसो रहेको बताउनुभएको छ ।
नेपाल अपाङ्गता संघ कास्की र राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजना र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गण्डकीको सहयोगमा भएको स्वास्थ्य तथा सहायक सामग्री वितरण कार्यक्रममा थापाले यस्तो बताउनुभएको हो ।
“अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध छ । सम्बन्धित संघसंस्थासँग समन्वय गर्दै अगाडि बढनेछौं ।”, उहाँले भन्नुभयो ।
मन्त्री थापाले अपाङगता भएका नागरिकको क्षमता अभिवृद्धि, सीप विकास र रोजगारी सिर्जनामा प्रदेश सरकार लागिरहेको बताउनुभयो । त्यसका लागि आवश्यक बजेट विनियोजन समेत गरिएको भनाई उहाँको छ ।
अपाङ्गता भएका व्यक्तिहरुलाई सीप विकास तालिम दिलाई उनीहरुबाट उत्पादित वस्तुको बजारीकरणमा समेत प्रदेश सरकारले सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो ।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अधिकृत राममणी ढुंगानाले अपाङ्गता भएका व्यक्तिहरुको समस्या प्रकृति अनुसार फरक रहेको र आगामी दिनमा समन्वयका आधारमा कार्यक्रम तय गरिने बताउनुभयो ।
राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकीका अध्यक्ष जगन्नाथ सुवेदीले प्रदेश सरकारबाट उपलब्ध भएको सहयोग सामग्रीले ठूलो राहत मिल्ने बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जनमा जोड्ने खालको कार्यक्रम ल्याउनुपर्ने आवश्यकतालाई औंल्याउनुभयो ।
पोखरा महानगरपालिका अन्तर्गत नगर संजालका अध्यक्ष गंगा बहादुर खड्काले प्राप्त सामग्रीको सही सदुपयोग गर्न आग्रह गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरुले पाउनुपर्ने सुविधा नपाएको गुनासो गर्दै यसमा निर्मम भएर लाग्न उहाँले प्रदेश सरकारलाई अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा अपाङ्गता भएका व्यत्तिहरुलाई व्हीलचियर, मेडिकल सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम नेपाल अपाङ्गता संघ कास्कीका अध्यक्ष विष्णु सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो ।