पोखरा साइकल दौड च्याम्पियन प्रकाश र उषा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् ।
पोखरा १७ र २१ भित्र तय गरिएको रुटमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ प्रकाश र महिलातर्फ उषा विजेता बनेका हुन् ।

दुवैले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रकाशले निर्धारित २८ किलोमिटर दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गरेको समितिका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुषतर्फ एक घण्टा ३९ मिनेट २३ सेकेन्डमा दौड सकेर सुरज रानामगर द्वितीय र एक घण्टा ४३ मिनेट ५८ सेकेन्डमा सकेर हिमाल टमाटा तृतीय भए ।

अच्युतकृष्ण खरेल चौँथो र लक्ष्मण मल्ल पाँचौ भएको आयोजकले जनाएको छ । खरेलले एक घण्टा ४८ मिनेट १० सेकेन्ड र मल्लले एक घण्टा ५२ मिनेट ५१ सेकेन्डमा दौड पुरा गरेका थिए ।
महिलातर्फ हुमी बुढा मगर द्वितीय र इन्द्रकुमारी तामाङ तृतीय भए । बुढाले एक घण्टा ४० मिनेट ११ सेकेन्ड र तामाङले एक घण्टा ५९ मिनेट १ सेकेन्डमा २० किलोमिटर दूरी पार गरेका थिए । सोफिया विक चौँथो र प्रेमा परियार पाँचौ भए ।
सोफियाले दुई घण्टा २१ मिनेट १२ सेकेन्ड र प्रेमाले दुई घण्टा ३९ मिनेट ३ सेकेन्डमा दौड सकेको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले क्रमशः ३०÷३० र २०÷२० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
चौँथो र पाँचौ हुनेले क्रमश ः १० हजार र ५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।
पुरुषतर्फ अनिल विक र महिलातर्फ सोफिया विक पोखरा च्याम्पियन बने । उहाँहरुले १०÷१० हजार रूपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाए । दौडमा सहभागी हुनेमध्ये पोखराभित्रका खेलाडी जो सुरुमा फिनिसिङ लाइन पुग्छ उसले पोखरा च्याम्पियनको उपाधि पाउँछ ।
सोफियाले महिलातर्फ चौँथो भएकोमा १० हजार र पोखरा च्याम्पियन बनेकोमा थप १० हजार गरेर २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार हात पारिन् ।
पोखरा महानगरपालिका १७ र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना र नेपाल साइक्लिङ संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुष, महिला र रन फर फन विधामा गरेर एक सय जनाभन्दा बढी खेलाडी सहभागी थिए ।
रन फर फन विधामा सहभागी खेलाडीले प्रमाणपत्र प्रदान गरियो ।
पावरहाउसबाट सुरू भएको दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खर्स्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस पुगेर टुङ्गिएको थियो ।
कास्की जिल्ला साइक्लिङ संघ र नेपाल साइक्लिङ संघको पहलमा प्रतियोगिताको लागि यो नयाँ रुट तय भएको हो ।
विजेता र सहभागी खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्की, पोखरा १७ कि वडाध्यक्ष राधिका शाही योगी, कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, पोखरा–१७ का वडा सदस्यहरुले पुरस्कार हस्तान्तरण गरे ।
प्रदेश सांसद कार्कीले विकास भनेको भौतिक पूर्वाधार निर्माण मात्र नभएको र खेलाडी उत्पादन पनि राष्ट्रका लागि उपलब्धी भएको बताउनुभयो ।
“विकास भनेको बाटो बन्ने मात्र हो । खेलकुदमा राज्यको ध्यान जति पुग्नुपर्ने हो पुगेको छैन । मेरो ठाउँबाट जे गर्न सक्छु मैले गर्छु,” उहाँले भन्नुभयो ।
कार्कीले विश्वभर नै बिरामी हुनै नदिन खेलतर्फ अग्रसर गराउन अस्पताल छोडेर खेल मैदान बनाउने अवधारणा आइरहेको र नेपालमा पनि त्यसको खाँचो रहेको बताउनुभयो ।
पोखरा १७ कि वडाअध्यक्ष राधिका शाही योगीले पोखरा पर्यटकीय राजधानी घोषणा भएकाले पर्यटन प्रवद्र्धन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आवश्यक भएको बताउनुभयो । उहाँले रानीवनभित्रको रुट धेरै साइकलिष्टको रोजाइँमा पर्ने गरेको र नयाँ रुट थपिनु सकारात्मक भएको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला