स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा स्वास्थ्यको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरुको समन्वयमा सम्पन्न कार्यक्रममा स्वास्थ्य संस्थाहरू किशोर अवस्थाका व्यक्तिहरूका लागि कति पहुँचयुक्त छन्, भन्ने विषयमा केन्द्रित थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरू लगायत महानगर क्षेत्रमा सञ्चालित सम्पूर्ण हस्पिटल तथा सेवा प्रदायक संस्थाहरूलाई किशोर किशोरी मैत्री सेवायुक्त बनाउन निर्देशन दिनुभयो । स्वास्थ्य सेवामा सबै वर्गहरूको पहुँच स्थापित गर्न महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । यौन तथा प्रजनन स्वास्थ्यका दृष्टिकोणले किशोर किशोरीहरूमा उमेर नपुग्दै हुने गरेको विभिन्न क्रियाकलापका कारण उनीहरूको स्वास्थ्य अवस्था जोखिममा पर्दै गएको प्रति प्रमुख आचार्यले चिन्ता व्यक्त गर्नुभयो । स्वास्थ्य सम्बन्धी सचेतनाको अभावका कारण किशोर किशोरी उमेरका व्यक्तिहरूमा देखिएको यस प्रकारको समस्याले भविष्यमा गम्भीर असर गर्ने उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नं.१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले किशोर किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहदेखि नै उपयुक्त शिक्षा दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । किशोर अवस्थाको असावधानीले भविष्यमा गम्भीर प्रकृतिका स्वास्थ्य समस्याहरू आउन सक्ने भएकाले समयमा नै यससम्बन्धी सेवालाई पहुँचयुक्त बनाउनु पर्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले जनसमुदायमा मास स्केलमा स्वास्थ्य सचेतना सम्बन्धी वकालतको आवश्यक रहेको बताउनुभयो । यससम्बन्धी सेवा प्रदान गर्ने सरकारी निकायहरूमा जनशक्तिको अभाव, कम उमेरमा हुने विवाह र सामुदायिक रूपमा जनचेतना अभिवृद्धि चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिका स्वास्थ्य व्यवस्थापन समितिका सदस्य डा.डमरु पनेरुले स्वास्थ्यका सन्दर्भमा मानिसको जीवनशैली चिन्ता गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो । मानिसहरू आफ्नो स्वास्थ्यको नियमित चेकजाँच र स्वस्थ जीवनशैलीमा आधारभूत सवालहरूमा सचेत रहन नसकेको उहाँले उल्लेख गर्नुभयो । किशोरावस्थामा हुने स्वास्थ्य सम्बन्धी लापरबाहीरकमजोरीहरू भविष्यमा गम्भीर चुनौतीका रूपमा देखिन सक्नेप्रति सचेत रहन उहाँले सुझाव समेत दिनुभयो ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत फुलदेव तिमिल्सिनाले आफूहरू महानगरद्वारा सञ्चालित अस्पताल लगायत संस्थाहरूलाई किशोरकिशोरीमैत्री सेवायुक्त बनाउन लागि परेको बताउनुभयो । महानगरको किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कार्यक्रमका फोकल पर्सन सत्यराज साँखीले महानगर क्षेत्रमा यस प्रकार सेवाको विस्तारमा जोड दिइएको बताउनुभयो ।

राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार १५–१९ वर्षका १४ प्रतिशत किशोर किशोरीहरू गर्भवती हुने गरेको तथ्याङ्क छ । गण्डकी प्रदेशमा कुल प्रजननको १.४ प्रतिशत प्रजनन दर यही उमेर समूहका किशोर किशोरीहरूमा छ । करिब ३१ प्रतिशतले चाहेको बेला परिवार नियोजन सेवा प्राप्त गर्न नपाउने अवस्था छ । गत आर्थिक वर्ष २०७९र८० मा २० वर्ष मुनिका झण्डै २ हजार किशोर किशोरीहरू गर्भवती भएको तथ्याङ्क स्वास्थ्य कार्यालय कास्कीको अभिलेखमा छ । गर्भपतन गराउने २० वर्षमुनिका किशोर किशोरीहरूको सङ्ख्या पनि डरलाग्दो रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

किशोर किशोरीहरूको स्वास्थ्यका सन्दर्भमा विभिन्न कार्यक्रम मार्फत काम गरिरहेको मोमेन्टम परियोजनाका कार्यक्रम संयोजक सुदिप अर्यालका अनुसार सामुदायिक स्वास्थ्य सचेतना अभिवृद्धि र किशोर किशोरीहरूलाई आफ्नो स्वास्थ्य प्रति प्रतिबद्ध बनाउन सरकारको स्वास्थ्य सम्बन्धी नीति र संयन्त्रहरूमा व्यापक सुधारको आवश्यकता छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला