महेन्द्रपुलमा फहरिए संसार भरिका झन्डाहरू 

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिएको छ । लायन्स क्लब इन्टरनेश्नलको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाले उक्त पार्क निर्माण गरेको हो । पार्कको शनिवार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
चार तहको प्यारा फिट शैलीमा निर्माण गरिएको पार्कमा संयुक्त राष्ट्र सङ्घमा आबद्ध १९३ देशको नाम सहितका पोलहरूमा  झन्डाहरू राखिएका छन् । पार्कको सबैभन्दा अगाडी नेपालको झन्डा राखिएको छ भने, एक स्थानमा पत्रपत्रिका अध्ययन केन्द्र र अर्को स्थानमा डिजिटल अध्ययन केन्द्र पनि स्थापना गरिएको छ ।
सात महादेशको भिन्न भिन्न ब्लकहरू छुटाइएको पार्कमा दोस्रो विश्वयुद्ध पछि विश्व शान्ति स्थापना र मानव अधिकार प्रवर्द्धनका लागि स्थापित संयुक्त राष्ट्र सङ्घमा आबद्ध देशहरूको आबद्धताको मिति समेत उल्लेख गरिएको छ । पार्कमा संयुक्त राष्ट्र सङ्घ, पोखरा महानगरपालिका, लायन्स क्लब अन्तर्राष्ट्रिय र एनआरएनएको झन्डा पनि राखिएको छ ।
“झन्डा पार्क केवल रमाइलोका लागि मात्र होइन लर्निङ सेन्टरका रूपमा पनि रहनेछ ।” प्रमुख आचार्यले भन्नुभयो । उहाँका अनुसार यस आसपासको क्षेत्रलाई वाई फाई फ्री जोन बनाइएको छ । “कुनै पनि देशको राष्ट्रिय झन्डा त्यस देशको राष्ट्रिय एकता र गौरवको प्रतीक हो ।
“राष्ट्रिय झन्डाले नागरिकहरूलाई देशको साझा उद्देश्य, हित, देश प्रेम र स्वाभिमानको पक्षमा उभ्याउँछ, प्रमुख आचार्यले भन्नुभयो, यिनै पृष्ठभूमिमा संयुक्त राष्ट्र सङ्घको उद्देश्य अनुरूप विश्व शान्ति, एकता र भातृत्वको प्रवर्द्धनमा सघाउ पुराउने उद्देश्यले,यसका सदस्य राष्ट्रहरूको राष्ट्रिय झन्डा र सदस्यता प्राप्त मिति समेत उल्लेख गरी महानगरपालिकाले महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरेको छ ।”
अन्तर्राष्ट्रिय झन्डा पार्कले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पर्यटन राजधानी घोषणा हुने क्रममा रहेको पोखरामा विश्वभरिबाट घुम्न आउने पर्यटकहरूको एक गन्तव्य स्थल झन्डा पार्क बन्ने उहाँले बताउनुभयो । आफ्नो देशको प्रतिकका रूपमा राष्ट्रिय झन्डा पोखरामा फहराएको देखेपछि पर्यटकहरूमा समेत नयाँ उत्साह मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बुर्लाकोटीले पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसारका लागि यसले महत्त्वपूर्ण सहयोग पुग्ने उहाँले बताउनुभयो । संसार भरी सेवामा समर्पित लायन्सहरुको गौरवका रूपमा पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय झन्डा पार्क सम्बन्धित देशका पर्यटकहरूका लागि गर्वको विषय हुने उहाँले बताउनुभयो । पोखराको विकास र समृद्धिको यात्रामा लायन्स क्लब अन्तर्राष्ट्रिय स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्न सदैव तयार रहेको उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले झन्डा पार्कले पोखराको नयाँ पर्यटन गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले अन्तर्राष्ट्रिय झन्डा पार्क महानगरको नेतृत्वले देखेको एउटा जीवित सपना भएको बताउनुभयो । आफूहरूको कार्यकाल केवल रातो र कालो मसीको केराइमा केन्द्रित नगर्ने बताउनु भएका अध्यक्ष मर्सानीले समृद्ध महानगर निर्माणको अभियानमा सचेततापूर्वक सामेल हुँदै आवश्यक सहयोग र खबरदारी गर्न नगरवासीहरूलाई आग्रह समेत गर्नुभयो । आफूहरूको ध्येय महानगरको विकास र महानगरवासीको सन्तुष्टिमा केन्द्रित रहेको उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सुन्दर नगरी पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय झन्डा पार्कमा राखिएका संयुक्त राष्ट्र सङ्घमा आबद्ध सबै देशका झन्डाहरूले विश्व भातृत्व प्रवर्द्धनको सन्देश दिएको उहाँले बताउनुभयो । विश्वमा शान्ति कायम र मानवअधिकारको रक्षा तथा प्रवर्द्धनमा यसले महत्त्वपूर्ण सन्देश दिएको उहाँले बताउनुभयो ।
पोखरा सौन्दर्यीकरण अभियान अन्तरगत लायन्स क्लब अफ इन्टरनेश्नल डिस्ट्रिक्ट (325I, J, K, L, M) को तर्फबाट सहयोग प्राप्त भएको छ । संयुक्त राष्ट्र सङ्घमा आबद्ध १९३ सहित संयुक्त राष्ट्रसङ्घ, पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत गरी १९७ झन्डाहरू एकै स्थानमा राखिएको छ । पार्क निर्माणका लागि लायन्स क्लब अफ इन्टरनेश्नलका डिस्ट्रिक्टहरूले  ७० लाख बढी आर्थिक सहयोग प्रदान गरेका छन् ।
महेन्द्रपुलको अर्को भागमा भने गैर आवासीय नेपाली सङ्घ एनआरएनएको सहयोगमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । हाल त्यस स्थानमा बायो ग्याँसको डाइजेस्टर जडान कार्य भइरहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला