पत्रकारका विषयमा जनमानसमा भ्रम फैलिएको छः मन्त्री आले

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, साउन २३ । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले गण्डकी प्रदेशको सरकारले पत्रकारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

२९ औं आदिवासी दिवस तथा २४ औं फोनिज स्थापना दिवसका अवसरमा आदिवासी जनजाति पत्रकार महासघं फोनिज गण्डकी तथा फोनिज कास्की शाखाको आयोजना तथा नेवाः पत्रकार पुचः कास्कीको समन्वयमा मंगलबार आयोजित आदिवासी जनजाति संघसंस्थासँग बृहत् अन्तरसंवाद कार्यक्रममा मन्त्री आलेले सो भनाइ राख्नुभएको थियो ।

आफूले सुने अनुसार पत्रकारिता क्षेत्रमा आम्दानी नभएपनि सक्रिय भएर लागिरहनु महत्वपूर्ण रहेको मन्त्री आलेले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘गण्डकी प्रदेश सरकारले यो आर्थिक वर्षमा पत्रकारका लागि सोचे जस्तो गर्न सकेन, मेरो तर्फबाट भने सकेसम्म केही उल्लेखीय कार्य गर्ने छु ।’

कार्यक्रममा मन्त्री आलेले पत्रकारिता क्षेत्र र पत्रकारका विषयमा जनमानसमा अहिले धेरै भ्रम फैलिएको र यस्ता भ्रमलाई चिर्न पत्रकारले नै विषेश पहल गर्नुपर्ने बताउनुभयो ।

आदिवासी जनजाति एकजुट भएर लड्नुपर्ने र आफ्नो हकअधिकारका लागि एकअर्कामा समन्वय गरेर एकतापूर्वक अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

कार्यक्रममा तमु धिँ नेपालका अध्यक्ष तथा फोनिजका संघीय सल्लाहकार हुम तमुले आदिवासी जनजाति पत्रकार तथा आदिवासी संघसंस्थाबीच अहिलेसम्म समन्वय हुन नसकेको बताउनुभयो । एकअर्कालाई नखोज्ने प्रवृत्ति भएकाले समस्या उत्पन्न भएको उहाँको भनाई थियो । आदिवासी जनजातिका गतिविधि सञ्चारमाध्यममा प्रकाशन र प्रसारण हुन नसक्नु दुखद् भएको उहाँले बताउनुभयो ।

‘आदिवासी जनजातिका गतिविधि भइरहेका हुन्छन्, तर मिडियामा प्रकाशन–प्रसारण खासै हुँदैन ।’ उहाँले भन्नुभयो, ‘आदिवासी जनजाति पत्रकारको पहुँच मिडियाको भित्री तहसम्म पुग्नै सकेको छैन, त्यसैले हामीले हाम्रो गतिविधिलाई बाहिर ल्याउन सकेका छैनौं ।’ अध्यक्ष तमुले आदिवासी जनजाति पत्रकार तथा सघंसंस्थाबीच समन्वय हुनु आवश्यक रहेको समेत औंल्याउनुभएको छ ।
फोनिज गण्डकी प्रदेशका प्रदेश इन्चार्ज एमबी आस्था मगरले आदिवासी जनजाति समुदायकालाई दोस्रो दर्जाको नागरिकको तहमा हेर्ने नजर बदल्नुपर्ने समय आएको बताउनुभयो । आदिवासी जनजाति पत्रकार तथा सघंसंस्थाबीच समन्वायत्मक भूमिका खेल्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका लेख्ने उहाँको भनाई थियो ।

त्यस्तै फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीष मगरले समुदायगत आधारमा आदिवासी जनजातिलाई हेर्ने नजर परिर्वतन गर्न जरुरी रहेको बताउनुभयो । अबका दिनमा समेत यस्तै कार्यक्रम आयोजना गर्न फोनिज गण्डकी प्रदेश तयार रहेको उहाँको भनाई थिए ।

त्यस्तै नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले आदिवासी जनजाति समुदायको बीचमा सद्भाव हुनु जरुरी रहेको बताउनुभयो । हरेक जनजातिको आ–आफ्नै संस्कार र संस्कृति रहेको र त्यसलाई जोगाउनु सोही समुदायको पहल आवश्यक भएको उहाँले औंल्याउनुभयो ।

तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्र गुरुङले आदिवासी जनजाति समुदाय तथा सोही समुदायका पत्रकारबीच नै समन्वय नभएको गुनासो गर्नुभयो । आदिवासी जनजाति एकजुट भएर अगाडि बढे मात्रै समुदायगत हिसाबमा भएका रितीरिवाज तथा चालचलनलाई जोगाउन सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङले आदिवासी जनजातिका समुदायबीच नै समन्वय हुन नसकिरहेको अवस्थामा पत्रकारले भूमिका खेल्नुपर्ने बताउनुभयो । आदिवासी जनजाति समुदायका व्यक्तिलाई पत्रकारिता क्षेत्रमा कसरी ल्याउने भन्ने विषयमा समेत सोच्नुपर्ने अवस्था आएको उहाँको भनाई थियो ।

फोनिज गण्डकी प्रदेशका उपाध्यक्ष खिमा गुरुङको अध्यक्षता तथा संस्थाका महासचिव धनबहादुर गुरुङ ‘सुमन’ को सञ्चालनमा भएको सो कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय समितिका कार्यवहाक अध्यक्ष ओम गुरुङ, दुरा सेवा समाज कास्कीका अध्यक्ष गोविन्द दुरा, नेवाः देः दवु कास्कीका सचिव रिता नापित, थकाली सेवा समिति कास्कीका कार्यवहाक अध्यक्ष तेजेन्द्र तुलाचन लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला