महिलालाई ३३ प्रतिशत होइन, समान सहभागिताः अध्यक्ष हमाल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले महिलालाई ३३ प्रतिशतमा सीमित नराखी समान सहभागिता गराइनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले महिलाहरूको क्षमता अभिवृद्धि गरी राज्यका हरेक अंगमा समान सहभागिता नै अनेम संघको प्रमुख मुद्धा रहेको बताउनुभयो ।

अनेम संघ, गण्डकीको बैठक समापन र कमिटि सदस्यहरुलाई प्रशिक्षणपछि आयोजित पत्रकार भेटघाटमा उहाँले नेपालमा ३३ प्रतिशत महिलाको सहभागिता रहने कानुनी व्यवस्था गरिएपनि यो सकारात्मक रहेको तर पूर्ण नरहेको बताउनुभयो ।

‘जनसंख्याको आधा हिस्सा महिला छन् । आन्दोलनमा समान सहभागिता छ । त्यसैले ३३ प्रतिशत हैन, समान हुनुपर्छ । उहाँले भन्नुभयो– ‘जनसंख्याको हिसाबले महिलाको संख्या ५० प्रतिशतभन्दा बढी भएको हुनाले हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व ५० प्रतिशतलाई अनिवार्य गरिनुपर्छ । अहिले गरिएको व्यवस्थालाई नफेर्ने हो भने महिला सहभागिता ३३ प्रतिशतमा सीमित रहनेछ । महिलाले आधा सत्ता चलाउने व्यवस्था गर्नुपर्छ ।’
उहाँले थप्नुभयो – ‘महिलाका सन्दर्भमा आरक्षणको मात्र कुरा होइन, बराबरी प्रतिनिधित्वको कुरा हो । ३३ प्रतिशत सहभागितामा पनि नेतृत्वमा महिलालाई स्विकारिरहेको अवस्था छैन । अब महिलाहरुले क्षमता अभिवृद्धि गर्दै अघि बढ्नुको विकल्प छैन । यसकै लागि अनेम संघ क्रियाशील छ ।’

अनेम संघ गण्डकीकी अध्यक्ष हिराकुमारी गिरीले गत जेठ ३१ र ३२ गते पोखरामा भएको सम्मेलनले आफ्नो नेतृत्वमा ७१ सदस्यीय कमिटि निर्वाचित गरेपछि अहिले साउन २० र २१ गते बैठकका साथै सदस्यहरुलाई प्रशिक्षण सञ्चालन गरेको जानकारी दिनुभयो ।

प्रशिक्षणमा नेकपा एमालेको दशौं महाधिवेशनको कार्यदिशा बारेमा नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्ट, अनेम संघको आगामी कार्यभार विषयमा केन्द्रीय अध्यक्ष टुकाभद्र हमाल, अनेम संघको इतिहा र आन्दोलन विषयमा एमाले स्थायी कमिटि सदस्य थममाया थापा, संगठन निर्माण विधानबारे अनेम संघ महासचिव पेम्बा लामा, जबज र महिला विषयमा एमाले गण्डकी सचिव धनञ्जय दवाडी र संघको आगामी कार्ययोजना सम्बन्धमा अनेम संघ गण्डकीका अध्यक्ष हिराकुमारी गिरीले सहजीकरण गरेका थिए ।

अध्यक्ष गिरीका अनुसार अनेम संघ गण्डकीले जिल्ला कमिटिको बैठकहरु भदौ महिनाभित्र सम्पन्न गर्न निर्देश गरेको छ । यस्तै, अधिवेशन गर्न बाँकी जिल्लालाई असोज भित्र सक्न भनेको छ भने सदस्यहरुका लागि लेबीको निर्धारण पनि बैठकले गरेको छ ।

अनेम संघ गण्डकीले ९१ हजार बढीलाई सदस्यता वितरण गर्ने लक्ष्य लिएको छ । टोल स्तरसम्मै संगठन निर्माण गर्ने, प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरी प्रशिक्षकहरु तयार गर्ने, महिला सम्मान कार्यक्रम गर्ने, जहाँ विभेद त्यहाँ अनेमसंघ कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सम्पर्क कमिटि गठन लगायतका कार्ययोजना बैठकले पारित गरेको छ ।
अनेम संघ गण्डकीको उपाध्यक्ष पार्वता तिवारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव खरमाया विटालुले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला