काठमाडौं, ३१ असार । नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ ।
खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।
यसअघि भएको पहिलो खेलमा सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपालले बंगलादेशसँग १/१ को बराबरी खेलेको थियो ।
गत वर्ष काठमाडौं साफ च्याम्पियनसिपको फाइनल पछि नेपाल र बंगलादेश पहिलो पटक खेलेका हुन् । साफमा नेपाल बंगलादेशसँग फाइनलमा ३/१ ले पराजित भएको थियो ।
नेपालका मुख्य प्रशिक्षक अनन्तराज थापाले जित्नका लागि आएको तर पहिलो खेल बंगलादेशसँग बराबरी बताउदै दोस्रो खेलमा अट्याकिङ फुटबल खेल्ने र केही दिनदेखि यहाँको बसाईले मौसमसँग अभ्यस्त भइसकेको बताउनुभयो । उहाँले दोस्रो खेल राम्रो हुने आशा व्यक्त गर्नुभयो ।
बंगलादेशले पछिल्लो समय राम्रो खेलिरहेको र साफ च्याम्पियन टिम भएकोले विपक्षीको सम्मान गर्ने थापाले बताउनुभयो ।