काठमाडौं । अभिनेता तथा निर्देशक सरोज खनालले मुलुकका एकल महिलालाई निःशुल्क रुपमा फिल्म ‘बगान’ देखाउने घोषणा गर्नुभएको छ ।
ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खनालले फिल्मको कथावस्तु पनि एकल महिलामा आधारित भएकाले उहाँहरुको सम्मानका लागि यस्तो निर्णय गरिएको बताउनुभयो ।
खनालले एकल महिलालाई शैक्षिक रुपमा सशक्त बनाउनुपर्छ भन्ने कथावस्तु पनि फिल्मले पेश गर्ने अभिनेता बताउनुभयो
। ‘फिल्ममा मैले आमालाई शिक्षित बनाएको छु । आमा शिक्षित हुँदा छोरी पनि शिक्षित हुन्छिन् । फिल्म पूर्ण रुपमा शिक्षाकै बारेमा छ,’ उहाँले भन्नुभयो ।
पत्रकार सम्मेलनमा आफ्नो भूमिकाबारे चर्चा गर्दै अभिनेत्री मानन्धरले समाज परिवर्तनका लागि आफूले यस्तो भूमिकामा काम गरेको बताउनुभयो ।
‘समाज परिवर्तनमा सानो भूमिका खेले पनि यसलाई फिल्मको उपलब्धि मानिनेछ,’ मानन्धरले भन्नुभयो, ‘यसमा आमाको भूमिकालाई नजिकबाट नियाल्ने प्रयास गरेका छौं ।’
उक्त समारोहमा उपसभामुख इन्दिरा राना, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, कोशी प्रदेश सांसद मीना श्रेष्ठ, सञ्चारकर्मी बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमलकुमारी केसी र अभिनेत्री पूजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान गरिएको थियो ।
फिल्म असार २९ गते रिलिज हुँदैछ ।