
पोखरा । पोखरा महानगरपालिका, वडा नं. १५ कार्यालयले आफ्ना वडाका २५ जना युवायुवतीलाई बारिष्टा (कफि मेकिङ) तथा बेकरी तालिम दिएको छ ।
किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, रुपन्देहीको प्राविधिक सहयोगमा निःशुल्क १५ दिने तालिम मंगलबार सम्पन्न भएको हो ।
यस्तै, फलेपाटनस्थित सिद्ध माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि १ लाख छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यालयमा अध्ययनरत ५० जना विपन्न तथा जेहेन्दार छात्रछात्रालाई वितरण गर्न वडाले उक्त रकम बराबरको चेक मंगलबार हस्तान्तरण गरेको हो ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउने उद्देश्यका साथ वडाले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘प्रशिक्षार्थीका लागि तालिम लाभदायक रहेको विश्वास लिएकी छु । तालिम भन्ने चीज जब व्यवहारमा उतार्छाैं अनि मात्र फलदायी रहन्छ । त्यसैले, व्यवहारमा प्रयोग गर्नुहोला ।’
युवाको बढ्दो विदेश पलायन रोक्नुपर्ने भन्दै उपप्रमुख गुरुङले युवाहरू पनि स्वदेशमै बस्ने मनस्थिति बनाउनुपर्ने र यसको लागि राज्यले पनि युवा केन्द्रित नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।
पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले वडामा रहेका युवा तथा महिलाहरुलाई केन्द्रीत गरी विभिन्न तालिमहरु दिँदै आएको बताउनुभयो ।
उहाँले युवाहरू बेरोजगार भए, विदेशिने क्रम बढे भन्दै यसैलाई मध्येनजर गरी पहिले कपाल काट्ने तालिम आयोजना गरेको र अहिले बारिष्टा तालिम गरिएको बताउनुभयो ।
प्रशिक्षक मुना राना मगरले १५ दिने सीपमूलक तालिममा सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै सिकेका ज्ञानलाई व्यवहारिक प्रयोगमा ल्याउन आग्रह गर्नुभयो ।
प्रशिक्षार्थीका तर्फबाट शर्मिला परियारले तालिममा कफीबारे बुझ्न र बनाउन सिकेको बताउँदै अझै लामो कार्यक्रमको अपेक्षा गर्नुभयो ।
तालिममा सहभागी २५ प्रशिक्षार्थीलाई प्रमुख अतिथि उपमेयर गुरुङ, वडाध्यक्ष बानियाँ, प्राविधिक सहयोगकर्ता किङ्ग्स इन्टरनेशनल कलेजका डाइरेक्टर ठाकुरप्रसाद शर्मा, वडा सदस्य मन्दिरा परियार, बलराम पौडेल, सेतीमाया गुरुङ लगायतले सहभागिताको प्रमाणपत्र वितरण गरे ।
यस्तै, सिद्ध माविमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा वडा नं. १५ अध्यक्ष तोरणबहादुर बानियाँ लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेबहादुर आले र विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालालाई १ लाखको चेक हस्तान्तरण गरे ।
उपमेयर गुरुङले पोखरा महानगरपालिकामध्ये १५ नं. वडा कार्यालयको गतिविधि उत्कृष्ट रहेको भन्दै वडाबासी भाग्यमानी रहेको बताउनुभयो । शिक्षा र खेलकुद क्षेत्रमा विशेष चासो दिँदै वडाले कार्य गरिरहेकोमा उहाँले खुशी प्रकट गर्नुभयो । ‘पोखरालाई शिक्षाको हब बनाउने महानगरकै योजना छ । दोस्रो बढी बजेट शिक्षामै छ । करिब डेढ अर्ब छुट्याइएको छ ।’ गुरुङले भन्नुभयो ।
विशेष अतिथि वडाध्यक्ष बानियाँले बाटोघाटो बनाएर मात्र विकास भएको नमानिने बताउँदै शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा अघि बढेमात्र समाज विकसित रहने बताउनुभयो । उहाँले पोखरा १५ बस्ने कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित नगराउने प्रतिबद्धता जनाउँदै गरीबिकै कारण पढ्न नपाउने बालबालिका छन् भने वडामा सम्पर्क गरिदिन पनि आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर आले, प्रधानाध्यापक गुरुदत्त कोइराला, सहायक प्रधानाध्यापक जुना थापालगायतले विद्यालयका तर्फबाट वडालाई धन्यवाद दिए । उनीहरुले वडा र महानगरले विद्यालयको विकासका लागि विशेष सहयोगको पनि अपेक्षा गरे ।