नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले वर्तमान सरकारले ल्याएको बजेटले अर्थतन्त्रका मूलभूत समस्यालाई सम्बोधन गर्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले बजेटले रोजगारी सिर्जना गर्ने कुनै कार्यक्रम पनि नसमेटेको बताए । बरु सरकारले विदेशी लगानीकर्तालाई हतोत्साहित गरिरहेको उनको आरोप छ । बजेटमा भूमि बैंकको चर्चा नगरिएकोमा ज्ञवालीले चित्त दुखाए ।
उनले अहिलेको सरकारले केपी शर्मा ओली सरकारले अघि सारेका रूपान्तरणकारी योजना मात्र पछ्याएको पनि बताए । ज्ञवालीले एमाले ‘ट्रेन्ट सेटर’ पार्टी भएको पनि दाबी गरे । ‘रूपान्तरणकारी योजना चाहिन्छ भन्ने वर्तमान सरकारलाई महसुस भएको छ ।
नेकपा एमाले यो देशको, विकासको ट्रेन्ट सेटर हो । उसले जुन ट्रेन्ट सेट गरेको छ । तपाइँले एकछिन विरोध गर्नुहोला । तर, बेर सबेर त्यो ठाउँमा नआइ सुखै छैन । कमसेकम यो बजेटमा आइपुग्दाखेरी त्यो रिअलाइजेसन गरेको निम्ती धन्यवाद भन्न चाहन्छु,’ ज्ञवालीले भने । उनले सरकारले बजेट कार्यान्वयन गर्न नसक्ने पनि दाबी गरे ।