महिलाहरूको कथा समेटिएको ‘म’ ः हाम्रो कथा अरुले लेखिदिएर हुँदैन, आफैँ लेख्छौँ कथासंग्रह लोकार्पण

Subi Gurung
  • ख-
  • ख+

महिलावादी लेखकहरूद्वारा लिखित ’म’ कथासंग्रह दोस्रो श्रृंखलाको लोकार्पण गरिएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच उक्त कथासङ्ग्रहको लोकार्पण गरिएको हो । महिलावादी कथा श्रृंखला अन्तर्गत लुम (तान नेपाल)ले उक्त पुस्तक प्रकाशन गरेको हो ।

उदयपुरकी ज्ञानु खत्री, उनकी आमा र बहिनी मकै गोडिरहेका बेला उनका काका टुप्लुक्क आइपुग्छन् । आमाले काकालाई सोध्छिन्, ‘चप्पल त राम्रा लगाउनुभएछ, कहाँबाट किनेर ल्याउनुभयो ?’ ज्ञानुका आँखा पनि काकाले लगाएको म्याजिक चप्पलमा जान्छ । तर, काकाले जवाफ दिन्छन्, ‘यो चप्पल तपाईंहरूले किनेर लगाउन सक्नुहुन्न ।’

यही जवाफका कारण तीन आमाछोरी पाँच दिन हिँडेर पुग्ने बेल्टार बजार जान्छन् । त्यहाँबाट ६ रुपैयाँ किलो नुन किनेर घरमा ल्याएर २० रुपैयाँ किलोमा बेच्छन् । नुन व्यापार गरेरै उनीहरूको म्याजिक चप्पल लगाउने सपना पूरा हुन्छ ।

ज्ञानुले लामो समय आफ्नो यो कथा आफैँसँग राखिन् । त्यो भोगाइ अरुका लागि प्रेरणा बन्न सक्ला, उनले सोचेकी थिइनन् । तर, उनको ‘म्याजिक चप्पल’ कथा पुस्तक ‘म’मार्फत सार्वजनिक भएको छ । त्यही पुस्तक विमोचन कार्यक्रमका लागि ज्ञानु उदयपुरबाट काठमाडौँ आएकी छिन् । कार्यक्रममा कथाको सन्दर्भ कोट्टिदा उनी निकै भावुक हुन्छिन् । ‘आजभन्दा १७÷१८ वर्षअगाडि एक जोर म्याजिक चप्पल लगाउन निकै संघर्ष गर्नुपरेको थियो,’ उनले भनिन्, ‘त्यही अनुभव समेटेर मैले मेरो कथा लेखेको छु ।’

उक्त पुस्तकमा काठमाडौँकी सावित्री थापाले पनि आफ्नो मातृत्वको अनुभव समेटेर कथा लेखेकी छिन् । उनलाई सुरुमा आफ्नै कथा कसरी लेख्ने होला भन्ने लागेको थियो । तान नेपाल (लूम) संस्थासँग जोडिएपछि भने उनलाई लेख्ने ऊर्जा मिल्यो । ‘मैले आफ्नो कथा आफैँले लेख्न सकौँला भनेर कहिल्यै सोचेको थिइनँ,’ उनले सुनाइन्, ‘सबैको कुरा सुन्दै गएपछि मलाई फरक तरिकाले आफ्नो कथा लेख्ने ऊर्जा मिल्यो ।’ उनको कथा ‘प्रश्नहरूको घेरामा मातृत्व’ पनि कथा संग्रह ‘म’मा प्रकाशित भएको छ । ‘आफ्नो कथा आफैँले लेख्दा छुट्टै अनुभव हुँदो रहेछ,’ उनले भनिन्, ‘अरुले लेखिदिएको भए त्यसमा अरुकै दृष्टिकोण बढी आउँथ्यो । मेरो कथामा मेरो श्रीमान्, बच्चा सबै छन् । तर, त्यहाँ उनीहरूको होइन मेरो दृष्टिकोण, अनुभव र भोगाइ उल्लेख गरिएको छ ।’
ज्ञानु र सावित्रीका जस्तै थुप्रै गुमनाम कथा समाजमा छन् । तिनै केही प्रतिनिधि कथाहरू समेटेर लुम नेपालले प्रकाशित गरेको छ । उनीहरूको कथा संग्रह ‘म’ ललितपुरको यलमाया केन्द्रमा शनिबार सार्वजनिक भएको हो । ‘म’को दोस्रो संस्करणमा ज्ञानु र सावित्रीसँगै जानकी जोशी, सीता शेर्पा राई, प्रेरणा खत्री, बासुदेवी विक, डम्बरकुमारी छुर्दाकी मगर, सेलिना चौधरी, ज्ञानु राई, सुमित्रा विक, प्रतीक थापा, संगीता चौरासिया, नज्बुन निशा खान गरी १३ जनाको कथा समेटिएको छ । संग्रहमा फरक यौनिकता भएका, हिंसामा परेका, महिला अधिकारको क्षेत्रमा काम गरेका महिला आदिको कथा समेटिएको छ ।

पुस्तक प्रकाशनका लागि नीति अर्याल खनालले सहजीकरण गरेकी हुन् । महिलाको इतिहास र सीमान्तमा भएका महिलाको कथा ल्याउन उक्त कथा संग्रह ल्याइएको उनले बताइन् । ‘हाम्रोमा महिलाको कथा नै आएका छैनन्,’ उनले भनिन्, ‘सीमान्तमा भएका महिलाको कथा झनै आएका छैनन् । हामीले तिनै कथा अगाडि ल्याउने कोसिस गरेका छौँ ।’

त्यस्तै, सम्पादक कैलाश राईले कथा लेखनको क्रममा सुरुमा धेरैलाई अन्योल भएको बताइन् । ‘सुरुमा उहाँहरूमा कसरी लेख्ने होला भन्ने अन्योल थियो,’ उनले भनिन्, ‘हामीले वर्कसप ग¥यौँ। भित्रैबाट उहाँहरूका भोगाइ पोख्न लगायौँ । आफ्नो कथा आफ्नै लेन्सबाट लेख्न सिकायौँ । उहाँहरू भित्रको ‘म’ निकाल्न लगायौँ ।’

यस्ता कथाहरू महिलावादी ज्ञान उत्पादनमा सहयोग पुग्ने अर्यालले बताइन् । विशेष गरी सीमान्त महिलाहरूको इतिहास र अनुभवको डकुमेन्टेसन गर्न आवश्यक भएकाले यस्ता कथाहरू अझै आउनुपर्ने उनको भनाइ छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य सरोनी सिंह, महिला अधिकारकर्मी एवं अधिवक्ता मोहना अन्सारी, त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक विन्दु पोख्रेल लगायतको उपस्थिति थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला