काठमाडौं, २३ चैत । सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै छ ।
१० दलीय सत्ता गठबन्धनले आज साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीवार आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरुबीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताउनुभयो ।
आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ ।
यसअघि सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदललाई न्युनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको थियो ।
कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेल लगायत सदस्य थिए ।
कार्यदलले यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको न्युनतम साझा कार्यक्रमलाई सामान्य परिमार्जन गरी सार्वजनिक गर्न लागिएको हो ।
महासचिव गुरुङले आजको बैठकमा मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको पनि जानकारी दिनुभयो।