पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरेको छ । विसं २०७९ भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकोमा अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक सेवा सञ्चालन गर्न लागिएको हो ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन डा. अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

नागिलाले गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक समितिलाई विश्वविद्यालयले शिक्षण अस्पतालको वातावरणीय परीक्षण प्रतिवेदन प्रस्तुत गरिसकेको र मन्त्रालयले त्यसको चाँडै टुङ्गो लगाउने बताउनुभयो ।

नागिलाले अनुमतिपत्र पाएपछि १०० शैयाको अस्पतालको रूपमा हामी पूर्ण रूपमा सर्भिस दिने भन्नुभयो ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा.दिपेन्द्र कुमार यादवले अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन भइसकेको र आवश्यक फर्निचर तथा उपकरणहरूको यथेष्ट व्यवस्थापन गरी वैशाखको पहिलो हप्तादेखि आकस्मिक सेवा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

विश्वविद्यालयका ईञ्जिनियर सुदिप अधिकारीले अस्पतालको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेकोले रंगरोगनको अन्तिम कार्य हुँदै गरेको बताउनुभयो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पोखरा–३०, खुदी, ढुंगेपाटनमा अवस्थित पोखरा विश्वविद्यालय प्राज्ञिक भवन कम्प्लेक्सको पूर्वपट्टि रहेको ११ रोपनी ३ आना (६०,४५० वर्गफिट) जग्गामा निर्माण भएको छ ।

अस्पतालको मुख्य भवनमा प्याथोलोजी ल्याब–१ वटा, रेडियोलोजी ल्याब–१ वटा, ओपिडि कक्ष–५ वटा, आकस्मिक कक्ष–१ वटा र जनरल वार्ड–१ वटा, माइनर ओ.टि. कक्ष– १ वटा र फार्मेसी–१ वटा रहने छ ।
त्यसैगरी पहिलो तलामा जनरल वार्ड–३ वटा, आई.सि.यू. कक्ष – १ वटा, माइनर ओ.टि.–१ वटा, मेजर ओ.टि.– २ वटा, प्रि अप कक्ष– १ वटा, पोष्ट अप कक्ष– १ वटा र सिंगल बेड क्याबिन २ वटा रहने छन् ।


अस्पतालको ट्रष्ट ब्लक १ मा निर्देशक कक्ष, प्रशासन शाखा, लेखा शाखा, म्याट्रोन कक्ष र प्राविधिक शाखा रहने छन् भने उक्त ब्लकमा जनरल वार्ड २ वटा, सिंगल बेड क्याबिन ५ वटा, फिजियोथेरापी कक्ष, मर्मत सम्भार कक्ष, लन्ड्री र क्यान्टिन रहने छ । त्यसैगरी अस्पतालको ट्रष्ट ब्लक २ मा बहुउद्देश्यीय हल, ईलेक्ट्रिक कोठा र फोहोर व्यवस्थापन कोठा रहने छ।

अस्पतालमा तलमाथि सहज पहुँच र ओसार पसारका लागि Ramp को व्यवस्थाका साथै अशक्त व्यक्तिहरूको लागि यथेष्ट ट्वाईलेट बाथरूमको व्यवस्था गरिएको छ ।
शिक्षण अस्पतालमा सर्वसाधारण प्रवेशका लागि एउटा गेट र सवारी साधन आउन जानका लागि दुईवटा गेटको व्यवस्था गरिएको छ भने प्रत्येक गेटमा गार्ड हाउसको व्यवस्था गरिएको छ ।
अस्पताल परिसरमा सडक बत्ति, खुला स्थान र यथेष्ट पार्किङ्गको व्यवस्थाका साथै हरियाली तुल्याउन अस्पताल वरिपरि वृक्षारोपन गरिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला