पाटाको वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर ट्राभल मार्ट पोखरामा हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर ट्राभल मार्ट–२०२३ आयोजना हुने भएको छ ।
नेपाल सरकार, नेपाल पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजनामा आगामी मे २९ देखि जुन १ सम्म सो कार्यक्रम हुने भएको हो ।

नेपालले सन् १९७५ मा पाटा इन्टरनेशनलको सदस्यता लिएसँगै पाटा वार्षिक शिखर सम्मेलन पहिलो पटक र तेस्रो पटक एडभेन्चर मार्ट आयोजना गर्न लागेको हो ।
यस सम्मेलन २०२३ ले नेपाल र विशेष गरी पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित बनाउने अपेक्षा आयोजकले गरेको छ ।

यस्तै कोभिड १९ पछि उठ्दै गरेको नेपालको समग्र पर्यटन क्षेत्र र विशेष गरि पोखरा र गण्डकी प्रदेशको पर्यटनको लागि यि दुबै कार्यक्रम कोशेढुंगाको रुपमा साबित हुनेमा नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद, पाटा इन्टरनेशनल र पोखराका समग्र व्यवसायीहरु विश्वस्त रहेका छन् ।

यस शिखर सम्मेलनमा लगभग १५ देशका गन्तव्य प्रमुखहरू सम्मिलित पाटा कार्यकारी बोर्ड सदस्यहरूको सहभागिता रहने छ भने एडभेन्चर ट्राभल मार्टमा विश्वभरका करिब ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको सहभागिता रहने छ ।

आयोजकका अनुसार नेपालले आयोजना गर्ने यस अन्तर्राष्ट्रिय कार्यक्रममले पर्यटक आगमनमा समेत बृद्धि हुने र सन् २०२३ को अन्त्यसम्ममा नेपालको पर्यटन कोभिड १९ पूर्वको अवस्थामा पुग्ने अपेक्षा गरिएको छ ।

पोखरामा सन् २०२३ को जनवरी देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै नेपालको पर्यटकीय राजधानी भनेर चिनिने पोखरामा आयोजना हुने यस कार्यक्रमले पोखराको पर्यटनलाई थप चलायमान बनाउने अपेक्षा समेत आयोजकको रहेको छ ।

त्यस्तै यस कार्यक्रममा अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्याति प्राप्त वक्ताहरुले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, Artificial Intelligence , सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटन लगायतका विषयमा कन्फरेन्स गर्ने भएको छ ।

सो कन्फरेन्समा विज्ञ, व्यवसायीहरु र संचारकर्मीहरु माझ गहन छलफल तथा प्रस्तुतिकरण गरिने आयोजकले जनाएको छ ।
त्यस्तै कार्यक्रममा नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर सिर्जना गर्ने अवसर प्रदान गर्दै २ दिनसम्म विशेष व्यापार–व्यवसाय शत्र सञ्चालन हुने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिनुभयो ।

डा.रेग्मीका अनुसार कार्यक्रममा कार्यशाला र B2B (Business to Business) मार्टका साथै पाटाको कार्यकारी बोर्ड र बोर्ड बैठक तथा वार्षिक साधारण सभा समेत सम्पन्न हुनेछ ।

पोखरामा आयोजना हुने यस कार्यक्रमको संयोजन पोखरा पर्यटन परिषदले गर्ने छ भने अन्तर्राष्ट्रिय संयोजन पाटा इन्टरनेशनलले गर्ने भएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला