
काठमाडौं, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएको नेपाली टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
आज शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली टिमका सबै सदस्यलाई सम्मान गर्नुभएको हो ।
नेपालले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो ।
खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्रीले खुसी व्यक्त गर्दै तपाईँहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको बताउनुभयो । उहाँले देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको बताउनुभयो ।
नेपालले एक महिनाको अन्तरमा अदित्तीय प्रदर्शन गर्दै १२ मध्ये ११ खेल जितेको थियो । जसमा घरेलु मैदानमा भएको पछिल्लो दुई शृंखलाको चारै खेल जित्दै क्लिन स्वीप गरेको थियो भने यूएईमा भएको शृंखलाका चारमध्ये तीन खेल जितेको थियो ।
लिग टु मा ३६ खेलबाट ४० अंक जोड्दै नामिबियालाई पछि पार्दै तेस्रो भएको नेपालले अब जिम्बावेमा आगामी जुन जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्नेछ । १० टिमले खेल्ने क्वालिफायरबाट शीर्ष दुई टोलीले भारतमा अक्टोबर नोभेम्बरमा हुने विश्वकपमा स्थान बनाउने छन् ।
प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला जिते लगत्तै गत महिना खेलाडीलाई प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर सम्मान गर्दै जनही २ लाख दिने घोषण गर्नुभएको थियो ।
अहिले फेरि यूएई र पपुवा न्युगिनी सम्मिलित शृंखला जितेको र विश्वकप छनोटमा पुग्न सफल टिमले प्रधानमन्त्रीले जनही ३ लाख दिने घोषणा गर्नुभएको हो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जस अनुसार अब खेलाडीले गत महिनाको घोषित र अहिले घोषित गरी ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने बताउनुभयो ।
सरकारले खेलाडी लागि पुरस्कार दिन खेलकुद पुरस्कार कार्यविधि बनाएको भए पनि त्यो कार्यविधिले यो प्रतियोगिता नसमेट्ने भएका कारण प्रधानमन्त्रीले पुरस्कार घोषणा गर्नु परेको घिसिङले स्पष्ट पार्नुभयो ।
त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन
प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन पनि दिनुभएको छ ।
प्रधानमन्त्रीले मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारकोतर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको उहाँको सचिवालयले जनाएको छ ।