
काठमाडौं । शनिबार हुने चलचित्र कलाकार संघको कार्यसमिति चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको मोहन निरौलाले प्यानल घोषणा गर्नुभएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले एजेण्डासहित प्यानलबाट उम्मेदवारी दिने अन्यको नाम समेत सार्वजनिक गर्नुभएको छ ।
त्यस्तै अभिनेत्री रेजिना उप्रेतीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्यानल घोषणा गर्दै एजेण्डा सार्वजनिक गर्नुभएको छ । उप्रेतीले आफ्नो प्यानलबाट कार्यसमितिमा उम्मेदवारी दिनेको नाम सार्वजनिक गर्नुभएको हो ।
उप्रेतीको प्यानलबाट उपाध्यक्ष पदका उम्मेदवार शिवहरि नेपाल बैरागी र सरिता गिरी छन् । महासचिव उम्मेदवारमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई छन् ।
सदस्यको उम्मेदवारमा रञ्जना खड्का, खिन्न भण्डारी, निर्मल स्याङ्तान, लक्ष्मण चौलागाईं, ईश्वरबल्लभ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोइराला, भीमसेन बजगाईं र दिनेश अवाल छन् ।
उक्त प्यानल घोषणामा निर्देशक नारायण पुरी, नरेश पौड्याल, शोभित बस्नेत, अभिनेता रमेश उप्रेती, राजेन्द्र खड्गी लगायत उपस्थित थिए ।
उप्रेतीको प्यानलले घोषणा गरेको एजेण्डामा कार्यालय व्यवस्थापन तथा सञ्चालन, कलाकारलाई क्यूआर कोड अंकित डिजिटल कार्ड वितरण गर्ने, संघको वेबसाइट सञ्चालन गर्ने, भवन व्यवस्थापन तथा सञ्चालन, सदस्यको अभिनय वृत्तिविकास, स्वास्थ्य उपचार योजना, पेन्सन योजना, कल्याणकारी कोष वृत्ति योजना, अन्तरक्रिया तथा गोष्ठी, संघको शाखा विस्तार र कलाकारको सामाजिक सुरक्षा लगायतका एजेण्डा छन् ।
निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् । महासचिवमा सविन श्रेष्ठ हुनुहुन्छ । सचिवमा रामेश्वर बुर्लाकोटी हुनुहुन्छ । कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य हुनुहुन्छ ।
सहकोषाध्यक्षमा उम्मेदवारी दिनुभएको आचार्य निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।
सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा छन् ।
कलाकार संघको भवन तथा कार्यालय व्यवस्थापन, सदस्यतासहित सामाजिक सुरक्षा, वृत्तिविकासलाई निरौलाले एजेण्डा बनाएका छन् ।
निरौला संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता समेत हुनुहुन्छ ।
यतिबेला चलचित्र कलाकारहरु चुनावमा व्यस्त छन् । शनिबार हुने चुनावका लागि उम्मेदवारहरु भोट माग्न व्यस्त छन् ।