इञ्जा फोटो पत्रकारिता पुुरस्कारबाट पोखराका सुरज श्रेष्ठ पुरस्कृत

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पोखराका फोटोपत्रकार सुुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुुरस्कृत हुनुभएको छ ।
अमेरिकाबाट संचालित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल “इञ्जा” द्वारा काठमाडौंमा आयोजित इञ्जा फोटो पत्रकारिता पुरस्कारबाट श्रेष्ठलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सम्मान पत्र, ५० हजार राशि सहित उहाँलाई पुरस्कृत गर्नुभएको हो ।

पोखरालाई कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आएका श्रेष्ठलाई फोटोपत्रकरिता मार्फत समाजमा खेलेको भूमिका प्रशंसनिय रहेको भन्दै पुरस्कृत गरिएको हो ।
पुरस्कार ग्रहण गर्दै श्रेष्ठले पत्रकारिता क्षेत्रमा लागिरहन आफुलाई प्रेरित गरेको अभिव्यक्ति दिदैं अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाउनु आफ्ना लागि पनि राम्रो अवसर भएको उल्लेख गर्नुभयो ।

‘पुरस्कारले मलाई फोटो पत्रकारिता क्षेत्रमा लागिरहन प्रेरित गरेको छ । काम गर्दै जाँदा सफलता मिल्ने रहेछ भन्ने विश्वास बढ्दै गएको छ । इञ्जा फोटो पत्रकारिता पुरस्कारका लागि मलाई छनोट गर्नुहुने जुरी टीमलाई धन्यवाद व्यक्त गर्दछु ।’, उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय स्तरको फोटो पत्रकारिता पुरस्कारका लागि पहिलो पटक नै पोखरालाई रोज्नु आफ्नो र समग्र पोखराका लागि नै राम्रो अवसर भएको उहाँको भनाई थियो । उहाँले पोखरा र आसपासका क्षेत्रलाई फोटोपत्रकारिता मार्फत प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन सँगै सामाजिक रुपान्तरणमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै सभामुख देवराज घिमिरेले देश र जनताका हितमा खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सुझाव दिनुभएको छ । व्यवस्था परिवर्तन भएसँगै पत्रकारिता क्षेत्रको भूमिका र जिम्मेवारी पनि फेरिएको भनाई उहाँको छ । संसद र सरकारलाई प्रभावकारी तुल्याउन पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा इञ्जा बौद्धिक पत्रकारिता पुरस्कार त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक जगत नेपाल र दैनिकी डटकम अनलाइनका सम्पादक माधव तिवारी तथा इञ्जा खोजी पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका मात्रिका दाहाल र आइएनएस डटकम अनलाइनका तारा वाग्लेलाई प्रदान गरिएको थियो ।

इञ्जा ग्रामीण पत्रिकारिता पुरस्कार रेडियो समग्र एफएम १०७ मेघाहर्ज लाहान र युवा पत्रकार सरिता चलाउनेलाई तथा इञ्जा फोटो पत्रकारिताबाट सुरज सँगै नरेन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो । ती सबै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ सहित सम्मानपत्र रहेको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार रघु मैनाली, सम्पादक समाजका संरक्षक किरण वैद्य, वरिष्ठ पत्रकार कुमार यात्रु र जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मालाई इञ्जा अग्रज पत्रकारिता सम्मान अर्पण गरिएको थियो ।
यसै गरी समाजसेवामा योगदान पुर्याए बापत शङकर भट्टराई, महिला हक अधिकारका क्षेत्रमा क्रियाशिल विजया शाह र युवा व्यवसायी प्रदीप गुरुङलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले इञ्जाले पत्रकारिताका सबै महत्वपूर्ण विधालाई समेट्दै पत्रकारिताको हित र कल्याणका लागि गरेको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली प्रेसले भोगेका समस्या सम्बोधन गर्ने विषयमा सरकार र सदनको ध्यान पुग्नुपर्ने अभिव्यक्ति दिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष विष्णु सापकोटा र समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठ र सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले पत्रकारिता क्षेत्रमा अवसर प्रदान गरिँदासमेत राजनीतिका छायाँ झल्कने भइरहेकोे अवस्थामा इञ्जा भने त्यसबाट मुक्त देखिएको उल्लेख गरेका थिए ।

इञ्जाका ग्लोबल अध्यक्ष गुणराज लुइँटेल, एसिया अध्यक्ष टङ्क पन्तलगायतले नेपाली पत्रकारिता क्षेत्रको श्रीवृद्धि र पत्रकारको उन्नयनका लागि विभिन्न फेलोसिप, पुरस्कार र सहयोग गर्दैैआएको जानकारी दिनुभयो ।

सुरज श्रेष्ठ 
पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आउनुभएको श्रेष्ठ २०६२ सालबाट पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । पोखरा सिटीडकम र ठीकठाक डटकमबाट फोटो पत्रकारिता शुुरु गरेका श्रेष्ठले कान्तिपुर, कान्तिपुर साप्ताहिक, नागरिक म्याग्जिनमा फोटो पत्रकारको रुपमा काम गर्नुभयो ।
श्रेष्ठले खिचेका फोटो पोखराबाट संचालित पत्रिकाहरुमा पनि प्रकाशित भएका छन् । हाल श्रेष्ठको आफ्नै मिडिया एस टु प्रोडक्सन, ह्याप्पी पोखरा डटकम संचालनमा छ ।
२०७० सालमा आफ्नै प्रोडक्सन हाउस एस टु प्रोडक्सन संचालनमा ल्याई थुप्रै म्युजिक भिडियो, विज्ञापन,डकुुमेन्ट्री र प्रोमो निर्माण गर्दै आउनुभएको छ ।
फोटो पत्रकारिता सँगै उहाँको अर्को परिचय भनेको गायन हो । २०५८ सालमा गायक बन्छु भनेर हिँडेका श्रेष्ठले ‘अन्जान मायालुु’ गीति एल्बम निकाल्नुभयो । उक्त एल्बमको ‘सम्झना छ छोडी जानेलाई, माया छ बिर्सी जानेलाई’ बोलको गीतले प्रसिद्धि कमायो । जुन गीत अहिले पनि उत्तिकै रुचाइन्छ ।
श्रेष्ठले नेपालको चर्चित ¥यालिटी शो हिमालयन रोडीजमा सिनेमेटोग्राफीको काम समेत गर्नुभएको छ । सगरमाथा क्याम्पमा आयोजना गरिएको वल्र्ड भ्लग च्यालेन्जमा पनि उनले सिनेमेटोग्राफीको काम गरिसक्नुभएको छ । अनुभवले खारिउनुभएको श्रेष्ठले राष्ट्रिय फोटो पत्रकार संघले २०७० सालमा आयोजना गरेको राष्ट्रिय स्तरको ‘नेपाल फोटो कन्टेस्ट’ बाट समेत सम्मान प्राप्त गर्नुभएको छ ।
उक्त कार्यक्रममा उहाँले खिचेको फोटो उत्कृष्ट भएको थियो । नेपालका तत्कालिन उपराष्ट्रपति बाट उहाँले सम्मान र पुरस्कार पाउनुभएको थियो ।
२०७५ सालमा पोखरामा ट्रेनर नेपालले आयोजना गरेको फेशन अवार्ड नेपालमा श्रेष्ठले बेष्ट फेशन फोटोग्राफरको अवार्ड हात पार्नुभएको थियो ।
पोखरामा भएका सौन्दर्य प्रतियोगिताहरुमा निणार्यकको भुमिका समेत उहाँले निर्वाह गर्दै आउनुभएको छ । सुरजको सक्रियता समाजसेवामा पनि देखिन्छ । श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्की र चलचित्र पत्रकार संघ कास्कीमा पनि आबद्ध हुनुहुन्छ । नेपाल फोटो पत्रकार संघ कास्कीको कोषाध्यक्षको जिम्मेबारी सम्हाल्नुभएको श्रेष्ठको दैनिकी भनेकै फोटोग्राफी हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला