एमालेका सबै मन्त्रीद्धारा राजीनामा, समर्थन पनि फिर्ता

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं,१५ फागुन । एमालेका आठैजना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसहित आठैजनाले राजीनामा पत्र बुझाएका हुन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज (सोमबार) बिहान बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णयसहित समर्थन पनि फिर्ता लिने निर्णय लिएको थियो ।

पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउने निर्णय गरेको थियो ।

आइतबार जेनेभा प्रस्थान गर्न लाग्नुभएको परराष्ट्रमन्त्री डा. विमला पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेपछि एमालेले आकस्मिक बैठक बोलाएको थियो ।

उक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्रीले विदेश भ्रमण रोकेपछि पौड्यालले अपमान भएको बताउनुभएको थियो ।

सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किसकेको थियो ।
तर एमालेले आफू १० पुसको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो ।

राष्ट्रपति निर्वाचनमा सहमति हुन नसकेपछि अधैर्यतापूर्वक निर्णय नगर्ने भनेर आफूहरुले सरकारमा रहेका काम गर्ने सोच बनाएको भए पनि प्रधानमन्त्रीले एमाले र एमालेका मन्त्रीहरुका सन्दर्भमा दिएको अभिव्यक्ति र व्यवहारका कारण सरकार छाड्ने निर्णयमा पुगेको उपाध्यक्ष विष्णु पौडेलले बताउनुभयो ।

पौडेलले सचिवालयको बैठकले तत्काल संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको बताउनुभयो ।
प्रचण्ड नेतृत्वको सरकारमा एमालेले एक उपप्रधानमन्त्रीसहित आठ मन्त्री पाएको थियो । जसमध्येमा उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल हुनुहुन्थ्यो ।

यसै गरी कृषि तथा पशुपन्छी मन्त्रीमा ज्वालाकुमारी साह, महिला तथा बालबालिका मन्त्रीमा भगवती चौधरी‚ परराष्ट्र मन्त्रीमा डा. विमला राई पौड्याल‚ स्वास्थ्यमन्त्रीमा पदम गिरी‚ भूमिसुधार मन्त्रीमा राजेन्द्र राई र रक्षामन्त्रीमा हरि उप्रेती हुनुहुन्थ्यो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला