सेती दोहनका कारण पोखरा–१९ का पुल र खेती योग्य जमिन जोखिममा, नदी दोहनमा ठूलो गिरोह

नगेन न्यूज
  • ख-
  • ख+

सरिता गुरुङ्ग, पोखरा, २० पुष ।  सेती नदी दोहनका कारण पोखरा–१९ पुरनचौर र पोखरा–२५ हेमजा जोड्ने १० खेप मर्दी पुल र पोखरा–१९ र माछापुच्छ्रे गाउँपालिका जोड्ने ढाव पुल धरासयमा परेका छन् ।

प्रतेक वर्ष सेती दोहनका कारण यसको गहिराई पनि तुलनात्मक हिसाबले पहिलेको भन्दा केही मिटर बढेको पोखरा–१९, पुरनचौरका स्थानीबासीहरुले बताएका छन् ।

यसरी खोला उत्खन्न कार्यले गर्दाले यहाँ वरपर बनेका संरचनाहरु र खेतीयोग्य जमिनहरु भाँसिने गरेको उनीहरुले बताएका छन् । यस खोला उत्खन्न कार्यमा ठूलो गिरोह लागि परेको पनि उनीहरुले बताए ।

त्यहाँका एक स्थानीयबासी एंव सामाजिक अगुवा धरेन्द्र नारायण पौडेलले कुनैपनि व्यवस्थापन बिना जुन ढङ्गबाट अबैध रुपमा सेती नदीबाट प्राकृतिक स्रोत उत्खन्न कार्य भईरहेको छ यसले यस क्षेत्रका भौतिक संरचनाहरु निकै जोखिममा भएको जनाएका छन् ।

यस उत्खन्न कार्यबाट यहाँ वरिपरि भएका कृषि योग्य कैयौं रोपनी जग्गा भासिने, जनताको सहजताका लागि बनेका करौडौं मूल्यका पुलमा क्षति पुग्नुका साथै पानीका मुहानहरु समेत सुक्ने जस्ता समस्या उत्पन्न भएको उनले बताए ।

उनले नदी उत्खन्न गर्ने सम्बन्धमा टेण्डर आव्हान गर्नुभन्दा पहिले प्रस्तावको वातावरणीय प्रभाव मुल्याङ्कन ९इआइए० अध्ययन सम्बन्धी क्षेत्र निधार्रण गर्ने क्रममा प्रस्तावित क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा के–कस्तो प्रभाव पर्दछ भनि यकिन गर्न यहाँका सरोकारवालाहरु र स्थानीयबासीहरुसँग राय सुझाव नलिइएको बताएका छन् ।

यसरी इआइए अध्ययन नै पुरा नगरी र सार्वजनिक सुनुवाई पनि नगरि नदी दोहनको कार्यमा वडा कार्यालय, महानगरपालिका र यस अबैधानिक कार्यमा संलग्न गुण्डाहरुको गिरोहमात्र बसेर स्थानीयबासीहरुलाई गुमराह गरि टेण्डर आव्हान गरेर बैधानिक रुपमा अबैधानिक कार्य गर्ने कार्य गरेको प्रति उनले आक्रोश समेत व्यक्त गरेका छन् ।

उनले कानुनी रुपमा हेर्ने हो भने ५ सय मिटर भन्दा खोला वरिपरि उत्खन्न गर्न नपाउने मापदण्ड भएको तर त्यस विपरित ठेकेदारहरुले कानुनको धज्जी उडाउँदै ढुङ्गा, गिटि र बालुवा जस्ता प्राकृतिक स्रोतको उत्खन्न गर्ने गैरकानुनी काम गरेको बताएका छन् ।

यस्ता कानुन विपरित काम गर्नेहरुलाई कारबाही गर्नुको सट्टा उल्टै कारबाही गर्ने निकाय नै यसमा संलग्न भएको समेत आरोप लगाएका छन् ।

त्यस्तै उक्त वडाकै अर्का एक जना स्थानीय बासीन्दा एवं सामाजिक व्यक्तित्व तारानाथ पौडेले दिएको जानकारी अनुसार महानगरले यसरी अबैध काम गर्न जुन ढङ्गबाट टेण्डर आव्हान गरि कुनै व्यवस्थापन विना लाइसन्स दिने कार्य गरेको छ यो एक्दम दुःखद र गलत कार्य भएको बताएका छन् ।

यस गलत कार्यको विरुद्ध आफुहरुले वर्षेनि आवाज उठाउँदै आएको र यस अबैधानिक कामको विरुद्ध २ सय २७ जनाले हस्ताक्षर गरी महानगरमा निवेदन दिएतापनि आफुहरुको हस्ताक्षरलाई वेवास्ता गरेर उल्टै महानगरले टेण्डर आव्हान गर्ने कार्य गरेको उनले बताएका छन् ।

यस विषयमा कुराकानी गर्न आफुहरु केही समय अगाडी मात्र महानगरपालिका गएर मेयरका स्वकीय सचिव खेम आर्चायलाई भेटेको र उनीसँग समस्या राख्ने क्रममा यस सम्बन्धमा महानगरको कुनै भूमिका नरहने वडा कार्यालयले जुन–जुन ठाउँमा उत्खन्नको लागि टेण्डर आव्हान गर्न सिफारिस गर्छ त्यही आधारमा महानगरले टेण्डर खुलाउने प्रतिक्रिया आफुहरुलाई दिएको बताएका छन् ।

यस लगतै आफुहरु वडा कार्यालय गएर वडाध्यक्षलाई भेटि सोधपुच्छ गर्दा अबैधानिक रुपमा खोलाबाट प्राकृतिक स्रोतहरु चोरी निकासी हुनुभन्दा बरु बैधानिक रुपमा टेण्डर खुलायो भने समस्या समाधान हुने बताएको जानकारी दिएका छन् ।

यसरी जनताको हितको लागि काम गर्ने जनप्रतिनिधि नै समस्या समाधान गर्नेतर्फ नलागी उल्टै निकम्मा भएर जनभावना विपरित काम गर्छ भने त्यो जस्तो दुःखद कुरा अरु केही नहुने समेत उनले बताएका छन् ।

उनले कैयौं पटक यहाँको अवस्थाको बारेमा बुझ्नको लागि भन्दै महानगरले ७ जना नगरप्रहरी पठाएको र उनीहरुले यस ठाउँको स्थितिको बारेमा बुझेर गएपनि समस्या समाधान गर्नुपर्ने ठाउँमा उल्टै टेण्डर खुलाउने कार्य भएको हुदाँ यो त जनतालाई सरासर झुक्याउने र यसमा महानगरको नियतमा पनि खोट देखिएको भन्दै गुनासो पोखेका छन् ।

त्यस्तै डाँडाघरी फाउण्डेशन पुरनचौरका अध्यक्ष हेम पौडेलले पनि यस विषयमा आफुहरु जिल्ला प्रशासन कार्यालय गएर त्यहाँका प्रमुखसँग कुराकानी गरेको बताएका छन् । उनले अहिले यहाँका स्थानीयबासीहरुले सैयंम्ता अप्नाएको तर यदि यस विषयमा सम्बन्धीत निकायहरुबाट तत्काल कुनै सुनुवाई भएन भने आफुहरुले कानुनी बाटो अप्नाउने बताउँदै यस ठाउँमा व्यक्तिगत रुपमा बाटो खुलाउने काम भएको तर अब ती बाटो पनि बन्द गरिदिने बताएका छन् ।

उनले यस नदी उत्खन्न कार्यमा ठूला शक्तिशाली गिरोहनै लागि परेको र उनीहरुलाई कानुनी कारबाही गर्नुका सट्टा प्रत्सहान गर्ने काम जनप्रतिनिधि र महानगरबाट भएको बताउँदै यस्ता अबैधानिक कार्य गर्न बैधानिक लाइसेन्स दिने निकाय नालायक भएको समेत प्रतिक्रिया दिएका छन् ।

उनले एउटा पुल निर्माण गर्न कम्तिमा पनि २० करोड लागत लाग्ने र राज्यले नै यसको संरक्षणका लागी चासो दिनुपर्ने ठाउँमा त्यसको ठिक विपरित राज्यले नै यस्ता चोरी निकासी कार्यमा संलग्न व्यक्तिहरुलाई सेती दोहनको लागि लाइसेन्स दिनु गैरजिम्मेवार भएको बताए ।

उनले अहिले देशमा धेरै छोटे राजाहरुको हालिमुहाली हुनाले पनि जनताले दुःख पाउने गरेको बताउँदै भन्ने बेलामा घर–घरमा सिंहदरबार भन्छ तर जनताले यसको कहिले आभाष गर्न समेत नपाएको बताएका छन् ।

उक्त विषयमा थप जानकारी लिन र बुझ्नका लागि यस प्रमुख मिडियाको टिमले पोखरा–१९, पुरनचौरका वडाध्यक्ष पुष्पेन्द्र पोण्डेलाई टेलिफोन सम्पर्क गरेतापनि उनीसँग सम्पर्क भने हुन सकेन ।

विशेषगरी सेती नदी दोहनका कारण अहिले यस ठाउँहरुमा रहेका पुलहरु निकै जोखिम अवस्थामा रहेका छन् भने यस ठाउँमा रहेका कृषि योग्य जमिनहरु समेत अव्यवस्थित रुपमा खोला उत्खन्नका कारण भासिने क्रम बढेको छ ।

यस्तै पोखरामहानगरबासीले पिउने पानीका पाइपहरु समेत खोला उत्खन्नका कारण जोखिममा रहेको छ । यदि तत्काल यस उत्खन्न कार्य रोकिएन भने वर्षायाममा उक्त पाइपहरु बाढीले बगाएर लानसक्ने सम्भावना धेरै रहेको र पोखराबासीहरु कालाकुल हुने अवस्था समेत सृजना हुने भएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला