१९ औं माछापुच्छ्रे पोखरा ओपन टेनिसको उपाधि प्रदिप र अभिलाषाले जिते सौगात बने मष्ट प्रोमोजिङ प्लेयर अफ दि टुर्नामेण्ट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १६ पौष ।
१९ औं माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिस सिंगल्सतर्फको उपाधि नेपालका नं १ टेनिस खेलाडीद्वय प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न प्रतियोगिताको ओपन सिंगल्स मेन्स तर्फको उपाधि प्रदिप र उमेन्सतर्फ अभिलाषाले जितेका हुन् ।

शनिबार पोखरा रंगशालामा सम्पन्न मेन्स सिंगल्सतर्फको प्रतिष्पर्धात्मक खेलमा प्रदिपले प्रनभ खनाललाई २–१ ले जित्दै उपाधि जिते । खुट्टामा चोट बोकेका प्रदिपले पहिलो सेट ६–३ ले जित्दै प्रनभ माथी दबाव बनाउने प्रयास गरेका थिए । तर दोश्रो सेटमा प्रनभ खेलमा फर्किदैं १–६ ले जितेर प्रदिपलाई चुनौती पस्किएका थिए ।
सिंगल्सका उपाधि विजेता प्रदिप डबल्सतर्फको उपाधि बिजेता समेत हुन् । नेहाल जङ्ग बहादुर थापा र प्रदिपको जोडीले डबल्सतर्फ उपाधि जितेका थिए ।

तर अन्तिम सेटमा प्रदिपले ७–५ ले खेल जित्दै उपाधि सहित नगद ८० हजारका साथमा ट्रफी हात पारेका छन् । प्रदिप नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता समेत हुन् । उपविजेता बन्न सफल प्रनभले नगद रु ४० हजार प्राप्त गरे ।
सेमीफाइनालिष्ट दुई रितिक राना र अकि जुवेन रावतले जनही नगद रु १०–१० हजारका साथमा प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक तथा कास्की टेनिसका उपाध्यक्ष नविन चालिसेले जनाएका छन् ।

यता उमेन्सतर्फ नेपालकी नं १ टेनिस खेलाडी अभिलाष विष्टले उपाधि सहित नगद रु ८० हजारका साथमा ट्रफी हात पारेकी छन् ।
सम्पन्न फाइनलमा अभिलाषाले सर्भानी श्रेष्ठलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरिन् । उपविजेता बन्न सफल सर्भानीले नगद ४० हजारका साथमा ट्रफी हात पार्दा सेमीफाइनालिष्ट दुई खेलाडी सुनिरा थापा प्रकृती श्रेष्ठ तेश्रो हुँदै जनही नगद रु १०–१० हजार प्राप्त गरेका छन् ।

यस्तै शनिबार नै सम्पन्न ३५ वर्ष माथीको मेन्स भेट्रान्स सिंगल्सको उपाधि जितेन्द्र परियारले जितेका छन् । जितेन्द्रले कमल भण्डारीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् ।
उपाधि सहित जितेन्द्रले नगद रु ६० हजार हात पार्दा उपविजेता कमलले नगद रु ३० हजार प्राप्त गरेका छन् ।

१९ औं माछापुच्छ्रे टेनिस अन्तर्गत शनिबार सम्पन्न ४५ वर्ष माथी भेट्रान्स सिंगल्समा रोहित सुनुवार बिजयी भए । रोहितले बिमल गुरुङ विरुद्ध सुपर ट्राइ ब्रेकरमा फाइनलमा पराजित गरे ।
पहिलो सेट ६–४ ले जित्दै रोहितले आफ्नो पक्षमा पारे पनि दोश्रो सेट २–६ ले गुमाउन पुगे । अन्तिम सेटमा १०–४ ले जित्दै सो उमेर समुहको उपाधि सहित रोहितले नगद रु ४० हजार प्राप्त गर्दा बिमलले नगद रु २० हजार हात पार्न सफल भए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि भने सौगात बिकले हात पारेका छन् । उनले १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपनतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै प्रतियोगिताको ‘मष्ट प्रोमिजिङ प्लेयर अफ द टुर्नामेण्ट’को उपाधि सहित करिव ३५ हजार पर्ने साइकल प्राप्त गरेका छन् ।

बिजेता खेलाडीहरुलाई माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष रोशन केसी, केसी ग्रुपका प्रवन्ध निर्देशक किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ, राजु श्रेष्ठलगायतले ट्रफी, नगद र प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष रोशन केसीले केसी ग्रुपले पोखराको खेलकुद र शिक्षाको क्षेत्रको विकासका लागि सहयोग गरिरहेको बताए । उनले भने–“हामीले अस्पताल बनाउनु भन्दा खेल मैदानको विकास र शिक्षालाई बढि प्राथमिकता दिएका छौं,” केसीले थपे–“आफ्ना स्वर्गिय बुवा सूर्य बहादुर केसी कै प्रेरणाबाट हामीले त्यो यात्रालाई अघि बढाएका छौं । यो यात्रा निरन्तर जारी रहने मात्रै नभई खेलकुद र शिक्षाको विकासमा केसी ग्रुपको अटुट सम्बन्ध रहिरहनेछ ।”

समापन कार्यक्रम कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको थियो । सो अवसरका कास्की टेनिसका सचिव नबिन श्रेष्ठले समेत आफ्ना भनाई राखेका थिए ।

गत पौष ११ गते बाट सञ्चालित १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस तर्फ हाल सम्मकै सर्वाधि सहभागिता रहेको थियो ।
प्रतियोगितामा महिला र पुरुष गरी २ सय भन्दा बढि खेलाडीले सहभागिता जनाएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख खर्च भएको जानकारी गराउँदै कास्की टेनिसका कोषाध्यक्ष अनुज बास्तोलाले मुख्य प्रायोजक माछापुच्छ्रे बैंक, प्रदेश खेलकुद परिषद गण्डकी, ट्राक्युलिटी एण्ड स्पालगायतले प्रायोजन तथा सहयोग गरेको जानकारी दिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला