पोखरामा पर्वतीय महोत्सव शुरु, पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको उपराष्ट्रपति पुनको भनाई

नगेन न्यूज
  • ख-
  • ख+

मंसिर २४, पोखरा ।
पर्वतीय दिवसको अवसरमा अन्र्ताराष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गरेका हुन् ।
उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बताएका छन् । अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा भनेको पर्यटन विकासमा भने रणनीति र कार्ययोजना आवश्यक रहेको उनको भनाइ छ ।

पर्यटन विकासमा रणनीति आवश्यक रहेको भनाइ राखेका पुनले विशेषगरी पर्वतीय पर्यटनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । पर्वतीय पर्यटनले हिमाली क्षेत्रमा बसोबास गर्ने भाषा, संस्कार, संस्कृति बुझाउन पनि भूमिका खेल्ने विचार उपराष्ट्रपति पुनले राखे ।

‘यसमा पनि हाम्रो पर्यटनको मेरुदण्डको रुपमा रहेको पर्वतीय पर्यटनलाई प्राथमिकता दिएर काम गर्न आवश्यक छ । पर्वतीय पर्यटन केवल आरोहणमात्रै होइन, यो पर्वतीय क्षेत्रमा बसोबास गर्नेहरुको भाषा, संस्कार, संस्कृति तथा जीवन बुझ्ने र उनीहरुको आर्थिक–सामाजिक जीवनमा रुपान्तरण ल्याउन योगदान पु¥याउने माध्यम पनि हो,’ उनले भने ।

‘डिसेम्बर ११’लाई लक्षित गरि प्रत्येक वर्ष आयोजना हुने यस महोत्सव दुई दिन चल्ने छ । आज महोत्सवको पहिलो दिन विभिन्न खेल तथा कार्यक्रमहरु भएका छन् । छेलो हान्ने प्रतियोगितादेखि धनुषवाणको खेल भएको थियो ।

‘पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका’ र पोखरामा तीनवर्षमा दोब्बर पर्यटनक भित्र्याउने विषयमा छलफल कार्यक्रम पनि भएको थियो ।

‘पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका’ विषयक कार्यक्रममा चारजना महिला आरोही वक्ता थिए । आरोही लाक्पा फुटी शेर्पा, पुर्णिमा श्रेष्ठ, फुन्जो लामा र फुरदिकी शेर्पाले कार्यक्रममा बोले । विषयममाथि छलफल गर्दै चारै आरोहीको एकै स्वर थियो–वातावरण र हिमाल संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो ।

आफूले चढिसकेको हिमाल चढ्न पुनः पुगेकी पूर्णिमाले चारवर्ष यता जलवायु परिर्वतनका कारण हिमाल हिउँविहीन हुन लागेको बताइन् । उनका अनुसार समयमै यसविषयमा गम्भीर नबने सेताम्मे हिमालहरु कालो पथरको रुपमा परिणत हुनेछन् । ‘हिमाल पहिलाभन्दा पग्लीराखेको छ । चारवर्ष धेरै परिवर्तन देखेँ । विशेषगरि खुम्बुक्षेत्रमा धेरै परिवर्तन देखेँ । यसलाई सिरियस इस्युका रुपमा लिएन भने दिन प्रतिदिन हिमाल कालो पथर बन्दै जानेछ,’ आरोही पूर्णिमाले भनिन् ।

यस्तै विलासिन पूर्ण एक्सपेडेसन कम्पनीको सेवाले पनि हिमालको वातावरणमा असर पु¥याएको बताउँछिन्, अर्की आरोही फुरदिकी शेर्पा । ‘आइसफल हटाएर चउर बनाएर एजेन्सीहरुले सुविधा दिएछ । ठुलोठुलो कम्पनीहरुले त्यस्तो नगरे हुन्थ्यो । काठमाडौँको ट्याक्सीले त्यती काम पाउँदैन जति हाम्रो क्षेत्रमा हेलीले पाउँछ,’उनले भनिन् ।

पहिलो कार्यक्रमपछि पोखरामा तीनवर्षभित्र कसरी दोब्बर पर्यटन भित्रयाउन सकिन्छ विषयमा छलफल भएको थियो । छलफलमा पोखरा महानगरका प्रमुख धनराज आचार्य र नेपाल पर्यटन बोर्डको निर्देशक धनञ्जय रेग्मी सहभागी थिए । छलफल कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सञ्चालनमा आउने अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटक भित्रयाउन ठूलो भूमिका खेल्ने विचार राखे ।

संयुक्त राष्ट्र संघले यसवर्षको पर्वतीय दिवस ‘वुमन मुभ माउन्टेन्स्’को नारासहित मनाउने निर्णय गरेको छ । उद्घाटन समारोहमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । भोलि महोत्सवको अन्तिम दिन यसै विषयमा छलफल कार्यक्रम हुँदैछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला