पोखरा २० मा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय स्थापना

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ७ कार्तिक ।
गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२(ख) अन्तर्गत पोखरा महानगरपालिका वडा नं २० मा निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ । सोमबार एक कार्यक्रमका बीच पोखरा २० र्यालेचौरमा उम्मेदवारसहित गठबन्धन दलका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले पोखरा २० का हरेक समस्याका विषयमा आफु जानकार रहेको र समस्याको समाधान गर्ने गरी चुनावी मैदानमा उत्रिएको बताए । उनले विकास र समृद्धिका लागि गठबन्धन गरेको बताए । समाजवाद उन्मुख अर्थतन्त्रको व्यवस्था निर्माण गर्ने उद्देश्य स्वरुप गठबन्धन गरिएको भनाई उनको थियो ।

कृषिमा लगानी बढाउँदै बजारीकरणमा समेत व्यवस्थापन गर्ने गरी नीति निर्माण गर्ने ध्येयका साथ आफु संसदमा उभिने बरालले बताए । भलाम, बिसौना, मौजा, आँटीघर हुँदै मोहरिया जाने बाटो निर्माणमा महत्वपूर्ण पहलकदमी गर्ने प्रतिबद्धता बरालको छ । शिक्षा, स्वास्थ्यको क्षेत्रलाई समेत सुधार गर्दै अगाडि बढिने उनले बताए ।

‘तपाईहरु भन्नुहोला । यसले ठूला गफ मात्रै लगायो । जीतेपछि काम नगर्नेहोला । तर त्यस्तो होइन । मलाई मत दिएर जिताउनुहोस् । भलामको आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास दिलाउँछु ।’, उनले भने ।

गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिएका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकारले पोखरा २० मा महत्वपूर्ण योजना पारेको अभिव्यक्ति दिए ।

उनले ८ करोड भन्दा बढीको योजना पोखरा २० मा परेको उल्लेख गर्दै उक्त क्षेत्रको थप विकासका लागि समेत आफु प्रतिबद्ध रहेको बताए । ‘२०७४ सालको निर्वाचनमा यहाँहरुले जसरी अमुल्य मत प्रदान गरी मलाई विजयी गराउनुभयो । मलाई लाग्छ उक्त मतको कदर हुने गरी नै मैले काम गरेको छु । आशा छ, यसपाली पनि सबैको साथ रहनेछ ।’, उनले भने ।
शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशिलताको विकासमा स्थानीय सँग मिलेर काम गर्न आफु प्रतिबद्ध रहेको भनाई उनको छ । उनले पहिलो कार्यकालमा पुरा गर्न नसकेका योजनाहरुलाई पुरा गर्ने ध्येयका साथ निर्वाचनमा होमिएको उल्लेख गरे ।
नेपाली काँग्रेस पोखरा २० का इकाई सभापति तिल बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति तथा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका प्रचारप्रसार संयोजक केशर प्रसाद निर्दोषी, नेकपा माओवादी पोखरा २० का अध्यक्ष चन्द्र बहादुर गुरुङ लगायतले बोलेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला