आर्चरीमा गण्डकी टीम च्याम्पियन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टीम च्याम्पियन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्णका साथ ४ रजत र १ काँस्य जित्यो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काँस्य हात पारेको छ । अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ काँस्य पदक प्राप्त गरेको हो ।

चौथो स्थानमा रहेको पुलिसले १ स्वर्ण, २ रजत र १ काँस्य जित्यो । प्रदेश १ ले २ रजत जित्दा सुदुर पश्चिमले १ रजत र २ काँस्य तथा बाग्मती प्रदेशले १ काँस्य मात्र जित्न सक्यो । लुम्बिनी र एनआरएनए पदकविहीन रह्यो । यद्यपी, सबै टीमले सबै विधामा सहभागिता भने जनाएको थिएन ।

विजयी टीम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव घनश्याम पौडैल, नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

बुधबार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जिते । उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । एपीएफका बिराट थापा तेस्रो भए । गंगा र तिलक वरियतामा पनि पहिलो र दोस्रो स्थानमै थिए । विराट पाँचौ वरियतामा थिए ।

रिकर्भ वुमेन व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै संवरण जितिन् । आर्मीकै ज्ञानु अवाले तेस्रो भइन् । वरियतामा भने रोजिना दोस्रोमा रहँदा मञ्जु पहिलो स्थानमा थिइन् । ज्ञानु तेस्रो वरियतामै थिइन् ।

कम्पाउण्ड मेन व्यक्तिगततर्फ गण्डकीकै खेलाडी फाइनल भिडे । जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते । सुदुरपश्चिमका सुरेश गुरुङ तेस्रो भए । वरियतामा जागृत पहिलो नम्बरमै र खेम दोस्रो नम्बरमै थिए । सुरेश चौथो वरियतामा थिए ।

कम्पाउण्ड वुमेन व्यक्तिगततर्फ पहिलो वरियताकी पार्षदा आचार्य (एपीएफ) पछि परिन् । दोस्रो वरियताकी आर्मीकी इमायुङ राईले १३६–१३० ले पराजित गर्दै स्वर्ण जितिन् । तेस्रो वरियताकी एपीएफकी निर्मला कानवाङ राई तेस्रो नै भइन् ।

स्टान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरियताका नगेन्द्र आचार्य (नेपाल पुलिस) ले स्वर्ण जिते । ¥याङकिङ राउण्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पछि परे । बाग्मतीका फर्माचन शेरचन तेस्रो भए । शेरचन पाँचौ वरियतामा थिए ।

स्टान्डर्ड वुमेन व्यक्तिगततर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन् । आर्मीकी शारदा बिक तेस्रो भइन् । वरियता निर्धारणमा शारदा दोस्रो स्थानमा थिइन् भने सोनु तेस्रो र योगिता चौथो स्थानमा थिए ।

कूल १३ विधाको खेलमा मंगलबार सात स्वर्ण र बुधबार छ स्वर्णको छिनोफानो भएको हो । आर्चरीमा मधेश र कर्णालीबाहेक तीन विभागीय, एनआरएनएसहित सबै ९ वटा टोलीको सहभागिता रहेको थियो । स्टान्डर्ड (३० मिटर), कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधामा पुरुष र महिला एकल, टीम र मिक्समा प्रतिष्पर्धा गराइएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला