लामाचौर तीज महोत्सवमा आजदेखि भलिबल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।

पोखराको लामाचौरमा शनिबारदेखि लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदैछ । नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गर्ने २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ मा भलिबल प्रतियोगिता गर्न लागेको हो । विगतमा महिला भलिबलमात्र हुँदै आएकोमा यसपालि पुरुष भलिबल पनि थपिएको हो ।

लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भदौ ११ देखि १४ गतेसम्म भलिबल प्रतियोगिताका खेलहरु हुने प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिनुभयो। लामाचौर महोत्सवको मूल कार्यक्रम भने भदौ १२ देखि १४ सम्म हुनेछ ।

आयोजकले महोत्सवको सुरु हुनु अघिल्लो दिन शनिबारदेखि पहिलो चरणका खेल सुरुआत गर्न लागेको हो ।

लामाचौर कप महिला राष्ट्रिय भलिबल प्रतियोगितातर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टर्स क्लब र गण्डकी प्रदेशको टिमले भाग लिने छन् ।

पहिलो पटक हुने पुरुष भलिबलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमले भाग लिने छन् ।

शनिबार महिला तथा पुरुषतर्फ ४ खेल हुने खेल तालिका सार्वजनिक गरिएको छ । महिलातर्पm पहिलो खेलमा नेपाल पुलिस क्लब र गण्डकीको टिमबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा न्यु डायमण्ड र त्रिभुवन आर्मीबीच खेल हुनेछ । यस्तै, पुरुषतर्फ पहिलो खेल नेपाल पुलिस कलब र मणिमुकुन्द तथा अर्को खेलमा आर्मी र गण्डकीको टिमबीच प्रतिस्पर्धा हुनेछ ।

विजेताले १ लाख ५० हजार १११, उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइनेछ ।

२०५४ सालमा स्थापित नव आदर्श सामुदायिक विकास समाजले हरेक वर्ष तीज अवसरमा लामाचौर तीज महोत्सव आयोजना गर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आइतबार महोत्सव उद्घाटन गर्नुहुनेछ भने अन्तिम दिन पूर्व प्रधानमन्त्री प्रचण्डको उपस्थिति हुने कार्यक्रम रहेको छ ।

महोत्सवमा तीजगीत प्रतियोगिता, अन्तरमावि लोक नृत्यतर्फ, स्रष्टा सम्मान, बाल उद्यान, स्थानीयस्तरमा उत्पादित बस्तुको प्रदर्शनी लगायत आकर्षण रहेका छन् । महोत्सवमा विभिन्न खालका ५० स्टल रहने सूचना तथा संचार उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिनुभयो ।

महोत्सवको अवसरमा शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई आयोजकले विगतमा झैं सम्मान गर्ने संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताउनुभयो ।

महोत्सवमा ५४ लाख ५ हजार खर्च हुने आयोजकको अनुमान छ । सामाजिक कार्यमा समेत क्रियाशील नवआदर्श सामुदायिक विकास समाजले महोत्सव संचालन गर्न स्थापना गरेको कोषमा २६ लाख संकलन भइसकेको र यसपालि डेढ लाख थप गर्ने लक्ष्य लिएको जनाएको छ । महोत्सवको मुख्य सहयोगी बानियाँ किराना स्टोर्स लामाचौर हो ।
देशविदेशमा गरी विभिन्न प्रायोजकले हालसम्म ४८ लाख रुपैयाँ सहयोगको बोलकबोल गरिसकेको आर्थिक संयोजक दिलबहादुर थापाले बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला