एक महिने अखण्ड हरिनाम संकीर्तन अन्तिम चरणमा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २५ साउन ।
पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा साउन १ गतेदेखि सञ्चालित एक महिने अखण्ड हरिनाम संकीर्तन अन्तिम चरणमा पुगेको छ । कर्दम–कश्यपजस्ता ऋषिमुनिहरूको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यस तीर्थस्थलमा लोक कल्याणको कामना गर्दै हरिनाम संकीर्तन गरिएकोमा यसबीचमा विभिन्न धर्मगुरुहरू सहित महिला समुह, संघ संस्था संस्था आदिको उत्साहपूर्ण सहभागिता रहेको नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिका अध्यक्ष झविन्द्रराज आचार्यले जानकारी दिनुभयो ।
प्राचीनकालदेखि साधकहरूको अभिलाषा पूर्ण गर्ने तीर्थस्थलका रूपमा परिचित भए पनि यस तीर्थस्थलको आवश्यक प्रचारप्रसार भने हुन नसकेको उहाँले बताउनुभयो । तीर्थस्थलको महत्वलाई थप उजागर गर्दै पूर्वाधार विकासका योजनालाई अघि बढाएको समितिले धाम परिसरमा द्वादश ज्योर्तिलिङ्गसहित जमिनमुनि १५ फिट गहिराइ, ३२ फिट लम्बाइ र १५ फिट चौडाइको गर्भगृहमा ११ फिट उचाइको श्री नर्मदेश्वर शिवलिङ्ग स्थापना गर्ने लक्ष्यका साथ आफ्नो कृयाशिलता बढाएको छ ।
बाह्र रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा सर्वेश्वर शिव,श्रीरामचन्द्र, श्रीकृष्ण आदि भगवान्का लीला शैलीमा आधारित कलात्मक मूर्ति रहने जनाइएको छ । मन्दिरको उचाइ जमिनको सतहबाट ४५ फिट र चौडाइ ५० फिट हुने र नेपाल आमा एवं अवतारी महापुरुषहरूको मूर्ति स्थापना गरी यस क्षेत्रकै अपूर्व दर्शनीय धाम बनाउने लक्ष्य राखिएको छ ।
समितिले धाममा साधु, सन्त, वृद्धवृद्धा, ब्रम्हचारी, बटुक र भक्तजनका लागि नित्य भोजन, आवासका साथै अन्य अतिथि तथा धार्मिक पर्यटकका लागि प्राथमिकतानुसार आतिथ्य भोजन उपलब्ध गराउँदै आएको छ । उक्त कार्यका लागि मुठ्ठीदानको आह्वान गरिएको छ ।
अध्यक्ष आचार्यका अनुसार समितिले धाममा गौशाला, विशाल अतिथिगृह, पोखरा तथा मुक्तिनाथमा आउनुहुने तीर्थालुका लागि सुविधासम्पन्न भवन, गौशाला, यज्ञमण्डप, १०८ शिवलिङ्ग, धर्मकुवा, महाकालेश्वर अखण्ड दीप, १०८ दीपलगायतको निर्माणका लागि लघु तथा गुरुयोजना अघि सारेको छ । धाममा वैदिक सनातन आधुनिक गुरुकुल पाठशाला स्थापनाको लक्ष्यसमेत राखिएको छ । गुरुयोजनानुसार पूर्वाधार निर्माणका लागि रु आठ करोड लागतको अनुमान गरिएको बताउँदै उहाँले लक्षित योजनामध्ये ४० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
ऋषिमुनिहरूको प्राचीन तपोभूमिका रूपमा रहेको यस तीर्थस्थलको अस्तित्व कहिलेदेखि रहेको भन्ने अझै कुनै यकिन तथ्य भने अनुसन्धानकै क्रममा रहेको बताइन्छ ।
पितृतीर्थका रूपमा समेत रहेको यस धामका सम्बन्धमा केही रोक किंवदन्तीसमेत रहेका छन् । परापूर्वकालमा बरवृक्षको छहारीमा बसी तपस्या, साधनाएवं यज्ञादि कार्य हुने भएकाले नर्मदेवर भगवान्लाई दायाँपारी बरवृक्षको समीप हुँदै बग्ने नदीलाई बरगाछी भनिएको र पछि अपभ्रंश भई बगादी भनिएको किंवदन्ती छ ।
यसै स्थलमा कुनै साधकले तपस्या र साधनाको माध्यमबाट विशेष धार्मिक पर्वमा अदृश्य पुजारीको माध्यमबाट पूजाअर्चना गर्ने गरेको र पूजाका लागि भक्तजन पुग्दा पूजा भइसकेको देखिने जनश्रुति अझै पनि कायमै छ ।
धाममा वैशाख, साउन र माघे सङ्क्रान्तिका साथै शिवरात्रि, नवदुर्गा, हरिशयनी एकादशी, हरिबोधिनी एकादशी, रामनवमी आदि महत्वपूर्ण तिथिमा विशेष मेला लाग्ने गर्दछ । धामको गरिमा र महत्वलाई उजागर गर्ने लक्ष्यका साथ समितिले विभिन्न महत्वपूर्ण तिथिमितिमा कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।
देश–विदेशबाट ख्याती कमाएका सन्त महन्तको आगमन भइरहने यस धाममा विसं २०७३ फागुन ११ गतेदेखि २१ गतेसम्म सन्त सम्मेलन गरिएको थियो । लोक कल्याणको कामना सहित गरिएको अखण्ड हरिमान संकीर्तन आम सर्वसाधारणमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास गरिएको बताउँदै अध्यक्ष आचार्यले यही साउन ३१ गते एक भव्य समारोहकाबीच समापन गर्ने जानकारी दिनुभयो । समापन समारोहमा सहभागी भै प्रसादग्रहण एवम् पुण्यलाभ गर्नुहुन आग्रह गरिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला