पोखरा महानगरपालिकाले चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने

सुबी गुरुङ
  • ख-
  • ख+

पोखरा महानगरपालिकाले चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो ।

किसानको उत्पादनलाई निःशुल्क ढुवानी सुविधा दिन फलफूल तरकारी मूल्य शृंखला विकास आयोजनासँग सम्झौता गरेर कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको महानगरले जानकारी दिएको छ । सोसम्बन्धी सम्झौतापत्रमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सञ्जेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हस्ताक्षर गरेका छन् ।

कृषि एम्बुलेन्सले महानगरपालिकाका विभिन्न वडामा उत्पादित कृषि उत्पादनको संकलन गर्नेछ । कृषकबाट खरीद गरिएको कृषिउपज उपभोक्तासम्म पुर्‍याएर प्रत्यक्ष रूपमा विक्री गर्ने उद्देश्य राखिएको छ ।

ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरकारी मुख्य बजार क्षेत्रका उपभोक्तासम्म पुर्‍याउने महानगरको वार्षिक नीति तथा कार्यक्रम छ । सोहीअनुसार कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको महानगर प्रमुख आचार्यले बताए । कृषकलाई आवश्यक पर्ने बीउ समेत कृषि एम्बुलेन्समार्फत वितरण गर्ने योजना रहेको जानकारी उनले दिए ।

कृषि एम्बुलेन्स सञ्चालनले कृषिउपजमा हुने क्षति न्यूनीकरण, उत्पादन क्षेत्रदेखि बजारसम्म सुरक्षित ढुवानी र समयको बचत समेत हुने अपेक्षा गरिएको छ । साथै बजारीकरणको अभावले तरकारी बिग्रेर हुने क्षतिमा कमी आउने महानगर प्रमुख आचार्यले बताए । यसबाट बिचौलिया निरुत्साहित भई कृषकले उचित मूल्य पाउन टेवा पुग्ने महानगरका कृषि विकास महाशाखाका प्रमुख मनोहर कडोरियाले बताए ।

तालिका बनाएर महानगरका विभिन्न क्षेत्रमा नियमित रूपमा सञ्चालन गरिने यस सेवाले साना किसान बढी लाभान्वित हुने कडोरियाको भनाइ छ । कृषि एम्बुलेन्समा एकपटकमा तीन टन तरकारी ढुवानी गर्न सकिने महानगरले बताएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला