काँग्रेसका महामन्त्री शर्माले कलाकारलाई राष्ट्रिय गहनाको रुपमा नहेर गौरवको रुपमा लिनुपर्ने बताए

सुबी गुरुङ
  • ख-
  • ख+

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कलाकारलाई राष्ट्रिय गहनाको रुपमा नहेर गौरवको रुपमा लिनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा नेपाल ललितकला संघले आयोजना गरेको कला प्रदर्शनी तथा अन्तक्रिया कार्यक्रममा बोल्दै शर्माले कलाकारलाई गौरवको रुपमा सबैले लिनुपर्ने बताए ।

‘गहनता त लगायो भने सुहाउँछ । ठिक ठाउँमा लगाउन जानेन भने बिझाउँछ । गहना फुकालेर राख्न सकिन्छ, रंग र मुल्य हुन्छ’ शर्माले भने ‘गौरव बहुरंग हुन्छ, त्यो फुकालेर राख्न सकिँदैन र मुल्य पनि हुँदैन ।’ कलाकारलाई गहना भन्ने परिपार्टी परिवर्तन हुनुपर्ने उनको भनाइ थियो । ‘हामी अहिले राष्ट्रवाद र राष्ट्रभक्ति एकसाथ लिएर अगाडि बढिरहेका छौ’ शर्माले भने ‘राष्ट्रवादभन्दा राष्ट्रभक्ति ठूलो कुरो हो । अब राष्ट्रभक्तिलाई प्रथामिकता राखेर अगाडि बढ्नुपर्छ ।’ देश निर्माणमा राजनीतिले जति प्रेरित गर्न सक्छ त्योभन्दा बढी कला, संगीत र साहित्यले गर्ने धारणा शर्माको छ ।

कार्यक्रममा काँग्रेसका नेता रामहरि खतिवडाले अहिले भाषण गर्नुभन्दा काम गरेर देखाउने बेला भएको भन्दै विश्वमा देश चिनाउन कलाको विकल्प नरहेको बताए । त्यस्तै नेता गोबिन्द पोखरेलले राजनीतिकर्मीलाई कलाकारले विभिन्न माध्यमबाट देश विकास सिकाउनुपर्ने धारणा राख्दा नैनसिंह महरले कला र राजनीति सँगसँगै लान सकियो भने मात्र देश विकास हुने बताए । काँग्रेसकी नेतृ सरिता प्रसाईले कला कुनै व्यक्ति, पाटी र राजनीतिभन्दा माथि भएको बताइन् । उनले अहिले कला संस्कृति संरक्षण बेला आएको भन्दै यो संरक्षण गर्न सक्यो भने देश विश्वमा सजिलै चिनिने बताइन् ।

यस्तै ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके मानन्धरले विश्वमा नेपाली कलालाई महत्वका साथ हेरिए पनि नेपालमा यसले प्रथामिकता नपाउँदा कलाकार दुखी रहेको बताए । उनले राज्य, राजनीतिक दलबाट कला र कलाकार प्रथामिकता नपरेकाको गुनासो पोखे । नेपाल संस्कृति संघका अध्यक्ष तिर्थ थापा, नेपाली काँग्रेसका नेता राजु श्रेष्ठ, वरिष्ठ कलाकार किरण मानन्धर लगायतले कला र कलाकारको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला