कालोधनलाई सेतो बनाउन गभर्नरमाथि प्रहार-महासचिव पोखरेल

सुबी गुरुङ
  • ख-
  • ख+

एमालेका महासचिव शंकर पोखरेलले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि अवाञ्छित आरोप लगाएर हटाउन खोजेको बताएका छन् ।

पोखरामा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अर्थमन्त्रीले प्रतिस्थापन विधेयकमार्फत स्रोत नखोज्ने गरी लगानी गर्न दिने नीति ल्याउनुभयो । त्यसपछि हुन्डी र विभिन्न माध्यमबाट पैसा नेपाल आयो । त्यही कालो धनलाई सेतो बनाउन गभर्नरले रोक्न लाग्दा उहाँलाई हटाउने प्रयास भएको हो ।’ उनले गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रमाथि हुन लागेको गम्भीर अपराधको विरुद्ध डटेर सामना गरेको भन्दै प्रशंसा गरे ।

एमालेको अर्थ विभागमा उनै गभर्नर अधिकारीलाई राखिएको पत्रकारको प्रश्नबारे गलत होहल्ला फैलाइएको उनको दाबी छ । ‘राजधानीमा फेक न्युजका कारखाना हुन्छ । त्यही कारखानाले प्रायोजित समाचार लेखेका छन्, त्यसको प्रभाव यहाँ पनि परेको छ,’ उनले भने, ‘एमालेले आधिकारिक धारणा ल्याइसक्यो । वक्तव्य जारी गरिसकेपछि आधिकारिक कुरा त्यही हो ।’

उनले विराटनगरका मनोज अधिकारीलाई एम अधिकारी भनेको दाबी गरे । तर अधिकारीले भने आफूलाई विभागमा रहेको जानकारी नभएको बताइसकेका छन् । पोखरेलले अब नेपालका पार्टीहरू दुई लाइनमा ध्रुवीकरण हुनुपर्ने बताए । ‘धेरै पार्टी भएर मात्रै लोकतन्त्र हुँदैन । देशको समृद्धिका लागि गठबन्धनभन्दा ध्रुवीकरण राम्रो हो,’ उनले भने, ‘बुर्जुवाको नेतृत्व कांग्रेसले गर्छ । प्रगतिशील नेतृत्व एमालेले गर्छ । अरू सबै पार्टी यसैमा ध्रुवीकरण भए हुन्छ ।’

माओवादी र एकीकृत समाजवादीलाई समेत एमालेमा पुनः एकीकरण गराउने विषयमा पत्रकारले सोधेको प्रश्नमा पोखरेल भन्छन्, ‘हामी नीति र नेतृत्वमा विश्वास राख्छौँ । उहाँहरू त्यसमा सहमत हुनुहुन्छ भने ठिक छ । तर यही अवस्थामा एकीकरण सम्भव छैन ।’

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला