नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब कुनैपनि वेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने बताएका छन् । शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् ।
‘चुनावको मिति कुनैपनि बेला घोषणा हुनसक्छ’, अध्यक्ष नेपालले भने, ‘अब त्यो तयारीमा जुट्नुस्, कार्यकर्ताको विन्यास गर्नुस्, जिम्मा दिएर पठाउनुस्, घरघरमा जाने काम भएको छ कि छैन अहिलेदेखि नै स्वयंसेवक पनि खटाउनुस् ।’
उनले निर्वाचन मिति घोषणा हुने भएकाले नेता कार्यकर्तालाई तयारी अवस्थामा बस्न निर्देशन समेत दिए । उनले देशव्यापी उम्मेदवार दिएर गए आफ्नो पार्टीले अबको चुनावमा सबै ठाउँमा जित्न नसकेपनि प्रतिनिधिसभामा २०,२५ सिट जित्न कसैले रोक्न नसक्ने बताए । उनले अबको चुनावमा चारवटा मतपत्र हुने समेत उनले बताए ।