हैजा महामारीको त्रास

सुबी गुरुङ
  • ख-
  • ख+

दूषित पानीको कारण राजधानीमा हैजाको संक्रमण शुरु भएको छ । यो आफैमा अत्यन्त गम्भीर विषय हो । केही दिनअघि बागबजार, सानेपा र बुढानीलकण्ठका पाँच जना हैजाका बिरामी भेटिएको समाचार बाहिर आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार टेकु अस्पताल थप बिरामी आउनसक्ने सम्भावनालाई ख्याल गर्दै उच्च सतर्कतामा छ ।

अस्पताल प्रशासनले सामान्य झाडापखाला लाग्दा घरमै वा नजिकको अस्पताल वा स्वाथ्य संस्थामा गई उपचार सेवा लिन आग्रह गरेको छ । पछिल्लो समय राजधानीको फोहोर उठ्न नसक्दा र उक्त फोहोरको लिचेड धाराको पानीमा मिसिदा सोबाट हैजाको जीवाणु फैलिएको अनुमान गरिएको छ । बागबजारको धारामा दिसा मिसिएको पानी आएपछि त्यहाँका वासिन्दा त्रसित भएका छन् । हैजा फैलन थालेपछि काठमाडौं महानगरपालिकाले जनचेतनाका कार्यक्रम शुरु गरेको छ । सरकारले हैजा नियन्त्रण गर्न टोली खटाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले पुष्टि भएको हैजाको कारण

पत्ता लगाउन र रोकथाम गर्न पाँच जनाको टोली बनाएर कामलाई तीव्रता दिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका महामारी तथा रोकथाम नियन्त्रण फोकल पर्सन रामकृष्ण फुयालको संयोजकत्वमा गठित टोलीले हिजैबाट काम थालेको छ । टेकुमा उपचार गर्न आएका बिरामीको नमुना परीक्षण गर्दा पिउने पानीको इकोली र कोलीफर्म भेटिएको थियो ।

टोलीले रोगको कारण पत्ता लगाउन दूषित पानी र खाना लगायतको गुणस्तरको मापन गरिरहेको छ । थप हैजा फैलन नदिन सबै उपाय अवलम्वन गरिरहेको छ । झण्डै ४० लाख जनसंख्या बसोवास गर्ने काठमाडौंमा हैजाको प्रकोप फैलिए थुप्रैको ज्यान जानसक्ने अड्कड गर्न सकिन्छ । हैजा देखिएका व्यक्तिको दिसा मिसिएको पानी प्रयोग गरे हैजा फैलिन्छ । त्यस्तै खाद्यपदार्थबाट पनि हैजा फैलिनसक्छ । हैजाबाट जोगिन जथाभावी पानी पिउनु हुदैन । सकेसम्म उमालेको पानी पिउनुपर्छ । जथाभावी रुपमा जारको चिसो पानी नपिएकै बेस भनिएको छ । खाना खानुअघि हात धोएर खाने कार्य अनिवार्य भएको छ ।

सामान्य नियमको पालना ठीक तरिकाले गरिए मात्र पनि हैजाको आक्रमणबाट बच्नसकिन्छ । भिब्रियो कोलेरा नामक ब्याक्टेरियाका कारण फैलिने हैजा होस् वा अन्य संक्रामक रोग, पूर्वसतर्कताका कारण रोकिन्छ ।हैजा लाग्दा चौलानी पानीजस्तो दिसा आउने, लगातार बान्ता हुने, थकाइ लाग्ने, मांसपेशी दुख्नेजस्ता लक्षण देखिन्छन् । यस्तो लक्षण देखिनासाथ वा कडा खालको हैजा देखिए तुरुन्तै अस्पताल जानुपर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वमा हरेक वर्ष हैजाका १३ लाखदेखि ४० लाख घटना पहिचान हुनेगरेका र त्यसले करिब डेढ लाखको ज्यान लिनेगरेको छ ।

राजधानीमा फोहोरकै कारण हैजा फैलिरहेको छ । हैजा नियन्त्रण गर्न स्थानीय तह, संघ र प्रदेशका सरकारले विशेष ध्यान दिनु आवश्यक छ । यसलाई समयमै नियन्त्रण गर्न नसके भयावह अवस्था हुनसक्ने चेतावनी स्वाथ्यसंस्थाले दिइरहेका छन् । यस विषयमा सबैले सोच्नुपर्ने भएको छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि सतर्कता अपनाउनु आवश्यक छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला